संसद खुलाउन शीर्ष नेताको बैठक पुनः बस्दै
काठमाडौं : संसदको गतिरोध अन्त्यका लागि शीर्ष नेताहरुको बैठक पुनः बस्दैछ। यसअघि सोमबार बिहान बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि पुनः बैठक बस्न लागेको हो।
सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनकाे माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गरिररहेको संसद् अवरोध खुलाउनेबारे आज बिहान प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूको बैठक बसेको थियो।
बैठकमा सरकार र प्रतिपक्षबीच सहमति हुन नसकेपछि १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सारिएकाे छ भने राष्ट्रियसभाको बैठक एमालेको अवरोधको कारण स्थगित भएको छ।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सबै नेताहरू सदन चलाउने विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिए पनि एमालेका सचेतक महेश वर्तौलाले आफूहरुको मागप्रति सरकार सकारात्मक नभएको बताएका छन्।
वर्तौलाले प्रधानमन्त्रीले उच्चस्तरीय छानबिन समितिको माग नगर्न आग्रह गरेको जानकारी दिए । उनले भने, ’प्रधानमन्त्रीज्यूले पटकपटक उच्चस्तरीय छानबिन समिति नमाग्नुहोस् भन्नुभयो, समिति गठनका लागि सरकार तयार नभएसम्म हामी सदन चल्न दिँदैनाैँ,त्यसको जिम्मेवार सरकार हुन्छ ।’
