सुन तस्करी प्रकरण : थप अनुसन्धान गर्न सिआइबीलाई जिम्मा
काठमाडौं : राजस्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणबारे थप अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिएको छ।
विभागका महानिर्देशक नवराज अधिकारीले सुन प्रकरणमा अहिलेसम्म भेटिएका तथ्य र हालसम्म बरामद प्रमाणसहित प्रहरीलाई जिम्मा लगाउने निर्णय भएको बताए। संगठित अपराधअन्तर्गत अनुसन्धान गर्ने र यसको सबै काम नेपाल प्रहरीबाट हुने गरी हालसम्मको सम्पूर्ण तथ्य बरामद प्रमाणसमेत प्रहरीलाई पठाइने जानकारी उनले दिए।
विभागको टोली अनुसन्धानको प्रगति प्रतिवेदनसहित पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण बोकेर प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गर्न गएको थियो।
सुन प्रकरणको फाइल पाएलगत्तै अनुसन्धान थाल्ने तयारी सिआइबीले गरेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले विभागबाट पत्र प्राप्त भएपछि सिआइबीले अनुसन्धान थाल्ने जानकारी दिए।
गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे छलफल गरी अनुसन्धानको जिम्मा सिआइबीलाई समेत दिन निर्देशन दिएका थिए। उनको निर्देशनलगत्तै आवश्यक प्रक्रिया पुर्याएर फाइल पठाइएको हो।
गत साउन २ गते राति करिब एक क्विन्टल सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट बरामद गरेको भोलिपल्टैबाट राजस्वले अनुसन्धान थालेको थियो। सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये एकजना हाजिर जमानीमा रिहा भएका छन्।
पक्राउ परेकामध्ये १४ जना नेपाली, एकजना चिनियाँ, एकजना भारतीय र एकजना तिब्बती मूलका बेल्जियमका नागरिक हिरासतमा छन्। राजस्व चुहावटसम्बन्धी अनुसन्धान विभागले गर्ने र सङ्गठित अपराधसम्बन्धी अनुसन्धान प्रहरीले गर्ने विभागले जनाएको छ।
उक्त घटनामा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा १८ दिनपछि अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको हो।
