पहिराेमा परेर ज्यान गुमाएका २ जनाकाे परिवारलाई २ लाख रुपैयाँ राहत हस्तान्तरण
रुकुम पश्चिम – गएकाे आइतवार पहिरोमा परेर ज्यान गुमाएका रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ का दुई जनाको परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
बाँफिकोट–७ को पोखरापानी भन्ने ठाउँमा घाँस काट्न जाँदा सुक्खा पहिरोमा परेर ज्यान गुमाएका मृतकका नजिकका हकदारलाई घरमै पुगेर जनही दुई लाख रुपैयाँका दरले राहत रकम दिइएको हो । पहिरोमा परेर स्थानीय ४२ वर्षीया धनमाया खत्री र ४८ वर्षीय कालीबहादुर खड्काको ज्यान गएकाे थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिको बुधवार बसेको बैठकको निर्णयपछि बिहीवार पीडितको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०७७ बमोजिम पीडित परिवारलाई राहत उपलब्ध गराइएको हाे ।
यसैबीच विपद् व्यवस्थापन समितिको बैठकले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० र विपद् व्यवस्थापनका लागि तर्जुमा गरिएको परिचालन योजना २०८० लाई अनुमोदनसमेत गरेको छ ।
