वेस्ट इन्डिजले भारतलाई हरायो
काठमाडौं : टी–ट्वान्टी अन्तर्राष्ट्रियमा वेस्ट इन्डिजले भारतले ४ रनले पराजित गरेको छ। पाहुना टोलीलाई पराजित गरेसँगै वेस्ट इन्डिजले पाँच खेलको टी–ट्वान्टी आई सिरिजमा १–० को अग्रता बनाएको छ।
ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो।
वेस्ट इन्डिजका कप्तान रोभम्यान पावेलले सर्वाधिक ४८ रनको योगदान दिए। निकोलश पुरन ४१ र ब्रेन्डन किंग २८ रनमा आउट भए। भारतका युजभेन्द्र चाहल र अर्शदीप सिंहले समान २–२ विकेट लिए।
जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनाउन सक्यो।
भारतका लागि डेब्यू खेल खेलेका ब्याटर तिलक बर्माले सर्वाधिक ३९ रन बनाए। सूर्यकुमार यादव २१ र कप्तान हार्दिक पाण्डेयले १९ रन बनाए।
वेस्ट इन्डिजलाई नाटकीय जित दिलाउन रोमारियो शेफर्ड, जेसन होल्डर र ओबेद म्याककोयले समान २–२ विकेट लिए। दुई देशबीचको दोस्रो टी–ट्वन्टी आई आइतबार हुनेछ।
