जर्मनी महिला विश्वकपको समूह चरणबाटै बाहिरियो
काठमाडौं : उपाधि दाबेदार जर्मनी फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। बिहीबार भएको समूहको अन्तिम खेलमा दक्षिण कोरियासँग एक-एक गोलको बराबरीमा रोकिएपछि दुई पटकको विजेता जर्मनी नक आउट पुग्न असफल भयो।
विश्वकपको इतिहासमा जर्मनी समूह चरणबाट बाहिरिएको यो पहिलो पटक हो। ब्रिसबेनमा दक्षिण कोरियाविरुद्ध मैदान उत्रनुअघि जर्मनी सहज स्थितिमा थियो। छैटौं मिनेटमानै चो सो ह्युनले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाइन्। विश्वकपमा कोरियाले सुरुवाती गोल गरेको यो पहिलो पटक हो।
४२ औं मिनेटमा जर्मन कप्तान अलेक्जान्द्र पपले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा पुर्याएकी थिइन्। तर, अर्को खेलमा मोरक्कोले कोलम्बोलाई पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि जर्मनी जित्नै पर्ने दबाबमा पुग्यो। दोस्रो हाफमा गोलको प्रयास गरे पनि सफल हुन नसक्दा सन २००३ र २००५ को च्याम्पियन जर्मनीले समूह चरण पार गर्न सकेन।
जारी विश्वकपको नक आउट पुग्न नसक्ने जर्मनी अर्को हाई प्रोफाइल टिम हो। समूह एचमा जर्मनी तीन खेलबाट चार अंक जोड्दै तेस्रो स्थानमा रह्यो। पुछारमा रहेको कोरियाले एक अंक हात पार्यो।
सन् २०१८ को रुस विश्वकपमा जर्मनीको पुरुष टिम पनि दक्षिण कोरियासँग नै स्तब्ध हुँदै समूह चरणबाट बाहिरिएको थियो।
