सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने वडासचिवलाई कारबाही गर्न सिफारिस

सेयर गर्नुहोस

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेपछि गाउँपालिकाले कारबाहीका लागि सिफारिस गरेको छ ।

वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैँले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गएकाे असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो । गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका सामाजिक विकास समिति संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नम्बर १ का वडासदस्य बलमान गौचन र पञ्जीकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो । असार २५ गतेदेखि छानबिन समितिले छानबिन गरेको र छानबिनको क्रममा आरोप पुष्टि हुने कागजात र प्रमाण सङ्कलन भएको संयोजक शेरपुञ्जाले जानकारी दिनुभयो ।

छानबिन समितिले ७० पृष्ठ लामो प्रतिवेदन तयार गरी बुधवारको कार्यपालिका बैठकमा पेस गरेकोे थियो । कार्यपालिका बैठकले छानबिन समितिको निष्कर्षका आधारमा वडासचिव आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भेटिएको भन्दै आवश्यक कारबाहीका लागि सम्बन्धित मन्त्रालय र निकायमा सिफारिससहित प्रतिवेदन पठाउने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

वडासचिव आचार्यले बेगका टीकामा पुर्जा, रमायाँ फगामी पुन, लालमाया फगामी पुन र विन्दु गर्वुजाको भत्ता रकम आफ्नै हस्ताक्षर र औँठा छाप लगाएर लिनुका साथै मृतक गौदेवी तिलिजाको सामाजिक सुरक्षा भत्तासमेत आफैँले झिक्ने गरेको भेटिएको थियो । वडासचिव आचार्यले पाँच जनाको सामाजिक सुरक्षा भत्ताको एक लाख ५४ हजार २० रुपैयाँ हिनामिना गरेको र उजुरी परेपछि सम्बन्धित लाभग्राहीकै खातामा त्याे रकम जम्मा गरिदिएको भेटिएको छानबिन समितिले जनाएको छ ।

उजुरीपछि आचार्यलाई वडासचिबबाट फिर्ता बोलाएर गाउँपालिकामा हाजिर गराइएको थियो । लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीलाई कारबाही गर्ने अधिकार पालिकालाई नभएकाले
आवश्यक छानबिन गरेर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिससहित पठाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments Box