विजयनगरमा ‘हरित सडक’ बनाउन वृक्षारोपण अभियान

सेयर गर्नुहोस

कपिलवस्तुको विजयनगरमा गाउँपालिकामा ‘हरित सडक’ बनाउन र सडक संरक्षण गर्न वृक्षारोपण अभियान सुरु गरिएको छ । विजयनगर गाउँपालिकाको मुख्य आरटिओ कालोपत्रे सडकको दायाँबायाँ दुबै छेउतर्फ वृक्षारोपण गरिएको छ । विजयनगरको ६ नम्बर वडा कार्यालय खडैचाले हरित सडक तथा सडक संरक्षण गर्न विभिन्न जातको विरुवा रोपिएको जनाएको छ ।

 

वडा अध्यक्ष प्रेम बहादुर कलवारले हरित सडक तथा सडक संरक्षण गर्नेे उद्धेश्यले सडकको छेउमा वृक्षारोपण गरिएको बताए । उनले आइतबार ५ हजार विरुवा सडकको छेउमा रोपिएको बताए । उनले नीम, कल्कीफूल, एकासिया, इपिलिपिल लगायत विभिन्न जातको बोटको विरुवा रोपिएको जानकरी दिए । अध्यक्ष कलवारले आरटिओ सडकमा करिब ३ किलोमिटरमा १५÷१५ फिटको दूरीमा उक्त विरुवाहरु लगाइएको बताए ।

 

विरुवालाई जनावरबाट संरक्षण गर्न बाँसको डोलसमेत प्रयोग गरिएको उनले जनाए । कलवारले यस अघि वडा कार्यालयको परिसरमा पनि वृक्षारोणण गरिएको बताउँदै हरित प्रवद्र्धन कार्यक्रम अन्तर्गत खाली क्षेत्र, सडक किनारा, पोखरी, तालतलैया, पानीका मुहान लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरिने बताए । वडा कार्यालयले रोपिएको विरुवा कसैले उखेलेर फालेको थाहा पाइएमा एक हजार रुपैयाँ जरिवाना तिराउने समेत तोकेको छ । विरुवा उखेलेर फ्याक्ने व्यक्तिको जानकारी दिने व्यक्तिलाई दुई सय रुपैयाँ पुरस्कारको व्यवस्था पनि गरेको वडा कार्यालयले जनाएको छ । विरुवा राम्रोसँग नहुर्केसम्म पानी सिंचाईसमेत गरिरहनेछ ।

 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले यो समयमा मानव जीवनलाई हितकारी बनाउन वृक्षारोपणको कार्य गर्न सम्पूर्ण सरोकारवालाहरु एक जुट हुनुपर्ने बताए । टोल–टोलका खाली क्षेत्र, सडक किनारा, पानीका मुहान लगायतका सार्वजनिक क्षेत्रमा वृक्षारोपण गरी पुण्य कमाउने कार्य गरिनुपर्ने उनले जिकिर गरे । अहिले गरेको वृक्षारोपणको कार्यले हाम्रो वातावरणलाई सफा स्वच्छ निर्मल राख्नुका साथै भावी पिँढीका लागि सम्पत्ति बन्ने भन्दै सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरुका लागि आ–आफ्नो समुदायमा वृक्षारोपणको व्यापक अभियान चलाउन आवश्यक रहेको रिजालको भनाई छ ।

 

गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष प्रवेज आलम खाँले हजारौँ वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जन लगायतका आवश्यकता पुरा गर्दै आएको बताए । अहिलेको बदलिँदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिने उनले बताए । उनले ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण रहेको भन्दै सहरी क्षेत्रमा पनि सहरी वन अर्थात् अर्बान फरेष्ट्रीले महत्व पाइरहेको बताए । वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय रुपमा प्रत्यक्ष–अप्रत्यक्ष फाइदाहरु पु¥याइरहेको अध्क्षक्ष खाँको भनाई छ । उनले वृक्षारोपण र हरियाली प्रवद्र्धनका लागि साझेदारी बनबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

 

विजयनगर गाउँपालिकाले हरित सडक बनाउन सारा विश्वले अहिले झेलिरहेको जलवायु परिवर्तनको समस्या न्युनीकरणको साथै वातावरण अनुकुलनमा सहयोग पुग्ने विश्वास लिएको छ । अहिलेको असार श्रावणको महिना वृक्षारोपण गर्ने उपयुक्त समय रहेकोले वृक्षारोपण अभियान चलाइएकोे जनाएको छ । गाउँपालिकाले नै हरित सडक बनाउने लक्ष्यअनुरुप वडा कार्यालयले पनि वृक्षारोपण अभियान सञ्चालन गरेको हो । पालिकाभित्र रहेका ताल, पोखरीहरुको डीलमा समेत वृक्षारोपण गरिएको गाउँपालिकाले जनाएको छ । हरित सकड बनाउने कार्यक्रम अन्तर्गत पालिकाभित्र रहेका सबै कालाेपत्रे सडकहरुमा वृक्षारोपण गर्ने गाउँपालिकाकाे अभियान छ । गाउँपालिकाले वृक्षारोपण अभियानले सडक सुरक्षित हुने, हरियाली बढ्ने र हरियालीसँगै जमिनको संरक्षणमा समेत टेवा पुग्ने विश्वास लिएको छ ।

Facebook Comments Box