पाठेघर खस्ने समस्या, खुलेर भन्दैनन् महिला

सेयर गर्नुहोस

सल्यान : सल्यानमा आङ (पाठेघर) खस्ने समस्या भएका महिला अझै पनि खुलेर बाहिर वा स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन्। कसैको करकाप तथा बाध्यताका बिच जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने महिला पनि आफ्नो समस्याका बारेमा खुल्न नसक्ने, लजाउने, बोल्दा हिच्किचाउने गरेको पाइन्छ।

जटिल समस्या नआउँदासम्म पाठेघर खसेका महिलाले आफ्नो व्यथा लुकाएर राख्ने जसका कारण दिन प्रतिदिन उनीहरूको व्यथा बल्झिदै जाने सल्यान जिल्ला अस्पतालका डा. अभिषेक सिहंले बताए। उनले भने, ‘मुख्य समस्या पाठेघरको भए पनि अर्कै समस्या लिएर आउनुहुन्छ। हामीले सहजीकरण गर्दा हिच्किचाएर पाठेघरको समस्या लिएर आएको भनेर भन्नुहुन्छ।‘

कलिलैमा विवाह गरी सुत्केरी हुनु नै पाठेघर खस्नुको मुख्य समस्या रहेको उनले बताए। गर्भवती अवस्थामा महिलाले गह्रौं भारी बोक्दा, चुरोट बिडी खाएर बारम्बार खोक्दा, बच्चा जन्मिसकेपछि चाडै साल झरेन भनेर बल गरी साल निकाल्दा, सुत्केरी अवस्थामा टुक्रुक्क बस्दा र काम गर्दा पाठेघर खस्न सक्ने सम्भावना धेरै रहने डा. सिहंको भनाइ छ।

अशिक्षा, गरिबी, चेतनाको अभाव र भौगोलिक विकटताका कारण पाठेघर खस्ने समस्या लुकाएर बस्न बाध्य हुने गरेको पठी बुढाथोकीले बताए। उनले भने, ‘घर परिवार, छरछिमेकीले के भन्लान भन्ने सोचले रोग लुकाएर राखियो।‘

१६ वर्षमै विवाह गरी १७ वर्षमा सुत्केरी भएकी माया खड्काले पनि सन्तुलित र ज्ञानको अभावकै कारण पाठेघर खस्ने समस्या झैल्दै आएकी छिन्। सानै उमेर विवाह गरी आमा बन्दा र स्वास्थ्य सम्बन्धी ज्ञान नहुँदा १७ वर्षकै उमेरमा पाठेघर खस्ने समस्या बल्झिएको उनको भनाइ छ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष सल्यान जिल्ला अस्पतालमा मात्र २० वर्ष मुनीका १ हजार ४ सय २० महिला सुत्केरी भएका छन्।

Facebook Comments Box