निर्वाचन व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिने तयारी
काठमाडौँ : निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली सङ्कलन, अद्यावधिक, मतदानस्थल निर्धारण, केन्द्र व्यवस्थापन, मतदाता शिक्षा प्रदान गर्ने कार्य एवं निर्वाचन सामग्री व्यवस्थापनलगायतका अधिकार प्रत्यायोजन गर्ने तयारी भइरहेको बताएका छन्।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आज आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक कार्यक्रममा निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी यस्तो व्यवस्था गर्ने तयारी गरिरहेको उनलेजानकारी दिए।
स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न सकिने उनले बताए।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली सङ्कलन र मतदानस्थल व्यवस्थापनलगायतको अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य रहेको बताए।
