संख्या घटाउने भन्नु सेनाको अपमान गर्नु हो : वामदेव गौतम

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा गर्नु सेनाको अपमानबाहेक केही हुन नसक्ने तर्कसमेत गरे।

बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर उनले सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सैनिक अझै थप्नुपर्ने प्रस्तावसमेत गरे।

त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीरसमेत गरे।

उनले भने, ‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन। नेपाली सेना अहिले लगभग ९६ हजारको छ। यो सेनाको इतिहास एक पटक म दोहोर्‍याउन चाहन्छु। सेनाको स्थापना झण्डै २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहले गरेका थिए। त्यो सेनाले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेल्यो। सन् १८१४ मा नेपालमाथि अंग्रेज साम्राज्यवादको एकैचोटी ९ ठाउँबाट आक्रमण भयो। नेपाली जनताको साथ लिएर लड्यो तर हार्न पुग्यो। नेपाल जिउँदो राखेर, केही भूमि छोडेर नेपाली सेनाले नेपाललाई जोगायो। त्यसबेला अंग्रेज साम्राज्यवादसँग कति फौज थियो? सारा संसारभरि उसको राज्य थियो‚ उपनिवेशहरु थिए। तर नेपाल स्वतन्त्र रह्यो। त्यो स्वतन्त्रताको त्यस बेलाको शासक, प्रशासक जिम्मेवार छन् स्वतन्त्र राख्न निम्ति तर मुख्य रुपमा नेपाली सेना हो। सेनाले धेरैधेरै अप्ठयारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ‚ नेपाली जनताको रक्षा गरेको छ र अन्तिम पटक नेपाली सेनाले राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुँदाखेरी त्यो संविधानलाई सलाम ठोकेर हामी समर्थन गर्छौं भनेर भन्यो। यो संसारमा राजतन्त्रले, राजाले निर्माण गरेको यत्रो लामो इतिहास भएको फौजले जनताले जे निर्णय गर्छन्, त्यो हामी शिरोधार्य गर्छौं भनेर भनेको अर्को इतिहास छैन। त्यो सेना, गौरवगाथा बोकेको सेनाको त्यो इतिहास पढनु पर्छ।’

सेना थपेमात्र आगामी ५ वर्षभित्र सेनाले नेपाललाई आत्मनिर्भर बनाउने मात्रै नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्‍याउने तर्क सांसद गौतमले गरे।

‘म ती साथीहरुलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनु पर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नु पर्छ भन्छ- नेपाली सेनालाई १ लाख राखिदिनुस्। अर्को २ लाख सेना निर्माण गरेर देश निर्माण र औद्योगिक क्षेत्र र कृषि उत्पादनको क्षेत्रमा लगाउनुस्। र सेनाले ५ वर्षभित्र नेपाललाई आत्मनिर्भर मात्रै होइन‚ विदेश पठाउने गरी हामीले हाम्रो देशमा उत्पादन बढाउन सक्छौं‚‘ सांसद गौतमले भने‚ ‘अनेक ठाउँमा उसले आफूलाई ऐतिहासिक रुपले श्रेष्ठ सावित गरेको छ। पैसा जोगाउनका लागि धेरै ठाउँ छन्- प्रदेशसभाको के काम छ? संविधानमा छ‚ त्यसो भएर मैले अन्यथा भन्दिनँ। तर काम के छ? कहाँनिर गर्छ त्यसले काम? त्यसभन्दा तल अर्को तह छ‚ जुन प्रदेशको र केन्द्रको मातहत छैन। २७५ जनाको प्रतिनिधिसभा किन चाहिएको छ? घटाउनुस् यसलाई‚ २ सयमा झार्नुस्। २०५ जनाको बनाउनुस्। २०३ जनाको बनाउनुस्। अथवा १५०/१५१ जना बनाउनुस्।’

उनले गौरवगाथाले भरिएको नेपाली सेनाको संख्या घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेशसभा हटाउँदा उपयुक्त हुने बताए।

‘राष्ट्रियसभाको सदस्य हौं‚ भन्न त मिलेन। तर प्रतिनिधिसभाभन्दा छुट्टै अधिकार र कर्तव्य के छ? बेलायतको नक्कल गरेर जसबेला राजको टाउको काटेर विद्रोहीहरुले बेलायतभरि घुमाएका थिए र पछि श्रमिकहरुले विद्रोह गर्न सुरु गरेपछि श्रमजीवीहरुको विरुद्धमा त्यहाँका जमिनदार र पूँजीपतिहरु मिलेर एउटै छुट्टै हाउस बनाइयो, त्यसलाई हाउस अफ लर्डस भनियो। लर्ड भनेको भगवान मात्रै होइन, त्यसबेलाको जमिन्दार र सामन्तहरु पनि हुन्। हामी त्यसैको नक्कल गरेर आज यहाँ छौं। संसदीय क्षेत्रमा नक्कल भएको छ र यो संसद रहँदासम्म नेपाल विकास पनि हुँदैन, अगाडि बढ्न पनि सक्दैन‚’ उनले भने‚ ‘प्रतिनिधिसभाले कार्यकारी चुन्ने प्रणाली हुँदासम्म अगाडि जान सकिँदैन र जसले देश जोगायो, जसले आफ्नो रगतले माटो रातो बनायो त्यो सेनाको संख्या घटाउनु पर्छ भनेर छलफल गर्ने र देश विकास गर्ने सम्बन्धमा हामीले कुनै काम नगर्ने गर्‍यौं भने हामीले श्राप भोग्नेछौं।’

Facebook Comments Box