भारतीय व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर लगानी गर्नुस्

सेयर गर्नुहोस

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा निर्धक्कसँग लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आह्वान गरेका छन्।

भारतको गुजरात चेम्बर अफ कमर्सले मंगलबार आयोजना गरेको कार्यक्रममा महतले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन्।

उनले हालै मात्र भारतसँग १० हजार मेगावाट जलविद्युत् निर्यात गर्ने सहमति भएको र यसले नेपालमा जलविद्युत उत्पादन प्रोत्साहित हुने र धेरै विद्युत खपत गर्ने उद्योगलाई समेत प्रशस्तै सम्भावनाका ढोका खोलेको बताए।

‘नेपालमा जलविद्युत बाह्रै महिना सस्तो दरमा उपलब्ध हुने अवस्था आइसकेको छ’, उनले भने, ‘नेपालमा उत्पादित सामानले भारतमा पनि सहज पहुँच प्राप्त गर्ने हुँदा लगानीमा सहजता बढेको छ।’

नेपालमा विद्युत मात्र नभई कृषि उद्यम, सूचना प्रविधि पर्यटन समेत आकर्षक क्षेत्र रहेको , कृषि तथा पर्यटन उद्योगमा लगानीको अपार सम्भावना रहेको , प्रतिफल फिर्ता लैजान नीतिगत रूपमा कुनै समस्या पनि नरहेकाले निर्धक्क भइ लगानी गर्न आग्रह गरे।

गुजरात उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष संदिप ईन्जिनियरले गुजरातका उद्योगी व्यवसायी नेपालमा लगानी विस्तार तथा व्यवसाय स्थापना गर्न इच्छुक रहेको बताए। त्यसका लागि प्रक्रियागत सहजीकरण गरिदिन आग्रह गरे।

Facebook Comments Box