वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा चार नेपाली खेलाडीले भाग लिने
काठमाडौं : जापानको फुकुओका शहरमा आयोजना हुने वर्ल्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा नेपालका चार खेलाडीले सहभागिता जनाउने भएका छन्।
सहभागी हुन जाने नेपाली टोलीलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे। ओलम्पिकको छनोट प्रतियोगिता रहेको उक्त च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेन्डर गादेगाद शाह, डुवाना लामा र नासिर याह्या हुसेनले प्रतिस्पर्धा गर्नेछन्।
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीमा टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम ब्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह छन्। नेपाल पौडी संघका अध्यक्ष बज्राचार्यले यही साउन ७ देखि १३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपको दौरान हुने वर्ल्ड एक्वाटिक कंग्रेसमा पनि सहभागिता जनाउने छन्।
च्याम्पियनसिपअन्र्गत यही साउन ७ गते नासिरले ४०० मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्ने छन् भने साउन ८ गते गौरिकाले १०० मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछिन्। सोही दिन नासिरले दुई सय मिटर फ्रि स्टायलमा प्रतिस्पर्धा गर्नेछन्।
साउन ९ गते डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् भने १० गते गौरिकाले ५० मिटर ब्याक स्ट्रोक र एलेक्जेन्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्। डुवानाले ११ गते १०० मिटर फ्रिस्टायलमा र १२ गते एलेक्जेन्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।
टोली बुधबार जापान प्रस्थान गर्नेछन्।
