“ज्ञानसीपले आर्थिक समृद्धिमा टेवा” उपमेयर थारु

सेयर गर्नुहोस


चन्द्रौटा (कपिलवस्तु), २५ फागुन ।
महिलाहरुलाई व्यवसायिक बनाउन समयको माग अनुसार उत्पादनमुखी ज्ञानसीप दिनुपर्ने शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले बताएकी छन् ।
जिल्लाको शिवराज ३, खरेन्द्रपुरमा महिलाहरूका लागि कढाई, मखमल र ढाकाको जुत्ता बनाउने तालिम समुद्घाटन गर्दै उपप्रमुख थारुले यस्तो बताएकी हुन् । मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.द्वारा आयोजित सीपमूलक तालिमलाई सम्बोधन गर्दै उपप्रमुख थारुले सिकेका ज्ञानसीपलाई व्यवसायीकरण गर्दै स्थानीय स्तरमै विभिन्न वस्तुहरु उत्पादन गरी आर्थिक उपार्जन गर्न सकिने उल्लेख गरिन् ।
व्यापारिक दृष्टिकोणले चन्द्रौटा बजार एक महत्वपूर्ण व्यापारिक केन्द्र मानिन्छ । यहाँ उत्पादन भएका सामान स्थानीय तहमै खपत हुने उपप्रमुख थारुले विश्वास व्यक्त गरिन् । छिमेकी देश भारतको बढनी बजार जाने प्रमुख नाकाको मानिएकोले पनि चन्द्रौटा बजारको भविष्य उज्ज्वल रहेको उनले दाबी गरिन् । कृष्णनगर बढनी बजार गर्न दाङ, प्युठान, रुकुम, रोल्पा, अर्घाखाँची लगायतका जिल्लाहरूबाट आउने आम मानिसहरुका लागि समेत चन्द्रौटामा उत्पादित वस्तुले बजार पाउने विश्वास व्यक्त गरिन् ।
“आफ्नै गाउँ ठाउँमा उत्पादन भएका सामाग्री प्रयोग गर्न पाउँदा गर्व लाग्छ । त्यसैले यस तालिमले महिलाहरू सीप सिकेर आत्मनिर्भर हुनु जरुरी छ”–उनले भनिन् । स्थानीय उत्पादनलाई यहाँका व्यापारीले पनि बजारीकरण गर्न सहयोग गर्ने उपप्रमुख थारुले जनाइन् । सिकेका सीपलाई व्यवहारमा उतार्न सुझाव दिंदै थारुले तालिमको प्रभावकारिताका लागि बीचबीचमा आफूले अनुगमन गरिने बताइन् ।
तालिम उद्घाटन सत्रमा सहज बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कल्लु थारुले बचत र ऋणमा मात्र सीमित नभई सीपमूलक तालिम गराएर रोजगारीका अवसरहरु सृजना गर्न सहकारीले भूमिका खेल्नुपर्ने बताए । मिलिजुली सहकारीले गरेको कार्यको प्रशंसा गर्दै थारुले आगामी दिनहरूमा सो तालिमको आयोजना गर्दा सहजकर्ता समेत उत्पादन हुने गरी तालिमबाट सीप सिक्नुपर्ने सुझाव दिए । साथै उनले तालिम सफलताको शुभकामना समेत व्यक्त गरे ।
“सीप सिकौं स्वरोजगार बनौं” भन्ने मूल उद्देश्यका साथ २०७१ सालमा स्थापना भई स्थानीय महिलाहरुलाई निरन्तर ज्ञानसीप बाँड्दै आएको छ । १५ दिनसम्म चल्ने कढाई, मखमल र ढाकाको जुत्ता बनाउने तालिमको सहजीकरण सहकारी संस्थाकै उत्पादन उमा रासकोटीले गरेकी छन् । तालिममा स्थानीय २१ जनाको सहभागिता रहेको छ ।

Facebook Comments Box