‘नो भोट’को व्यवस्था गर्दै आयोग, दुई पटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने

सेयर गर्नुहोस

काठमाडौं : निर्वाचन आयोगले पहिलो पटक नो भोटको व्यवस्था गर्ने भएको छ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदालाई पारित गर्दै सरकारलाई पठाउने निर्णय गरेको छ।आयोगले तयार गरेको विधेयकको मस्यौदामा नो भोटको व्यवस्था गरिएको छ।

यो व्यवस्था अनुसार अब कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले त्यस्ता उम्मेदवारलाई समर्थन नरहने गरी नो भोटको व्यवस्था गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।

निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल सरकार गृह मन्त्रालय मार्फत संसदमा पेश गर्ने निर्णय आयोगले गरेको छ।

आयोगले गरेका विभिन्न २७ संशोधनमध्ये दुई पटकभन्दा बढी समानुपातिक सांसद हुन नपाउने प्रस्ताव गरिएको छ। प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक निर्वाचित भइसकेको व्यक्ति सोही निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने उल्लेख छ।

आयोगले ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य गर्दै विदेशमा रहेका नागरिकलाई मताधिकारलगायतको नयाँ व्यवस्था गर्नसमेत प्रस्ताव गरेको छ ।

Facebook Comments Box