पुल नहुँँदा विजयनगरका बालबालिका जोखिमपुर्ण यात्रा गर्न बाध्य
कृष्ण पौडेल- कपिलवस्तु । चिरई नदीमा पुल नभएकै कारण कपिलवस्तुको विजयनगरका बालबालिका विद्यालय जाँदा बर्खाको उर्लदो भेल होस् वा हिउँदको चिसो, विद्यार्थीहरु जोखिम मोलेर नदी तर्छन् । विजयनगर गाउँपालिका–५ (६ डालपुर, नौरंगिया, छुट्पाटी, खजहनी, उज्ज्वलपुरका बालबालिका छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा जोखिम मोलेर नदी वारपार गरिरहेका छन् । चिरई खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । अधिकांश विद्यार्थी यही खोला तरेर विद्यालय आउने जाने गर्छन् । वर्षौदेखि पुल नहुँदा स्थानीयले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता छ ।
हिँउदको समयमा जोखिम कम हुने भए पनि वर्षातको भेलमा यो खोला तर्न निकै सकस हुने गरेको छ । पुलका लागि स्थानीयले बारम्बार माग गर्दै आएका छन् । तर हालसम्म पनि कसैले यसतर्फ ध्यान दिएको छैन् । जसकारण स्थानीयले वर्षातको समयमा खोला तर्न जोखिम मोल्नु परेको हो । विद्यालयकी शिक्षिका जसमति यादवले चिरईमा पुल नहुदाँ विद्यार्थीहरूको पठनपाठन नै प्रभावित भएको बताउनुभएको छ । ‘पुल नहुदाँ विद्यार्थीहरुले जोखिम मोलेर नदी पार गर्छन । कहिलेकाही पढाइ सुरुभैसकेपछि मात्रै विद्यालयमा उपस्थित हुन्छन् । यसले गर्दा उनीहरुलाई पढाइमा असर हुने गरेको उहाँले भन्नुभयो । बर्खाको समयमा पारीका आधा बढी बिद्यार्थी बिद्यालयमा अनुपस्थित हुने गरेको उहाँले बताउनुभयो ।
चिरई नदिकै कारण बालबालिकालाई बिद्यालय पठाउन पनि समस्या हुने गरेको एक अभिभावक घनश्याम भरले बताउनुभयो । ‘बिद्यार्थीहरु मात्रै होइन्, यहाँका स्थानियहरुले पनि घास दाउरा, मेलापात चिरई नदि तरेर गर्नुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो । ‘कक्षा ८ मा अध्ययनरत बलाराम कुमालले बर्खामा चिरई उर्लेर आउँछ । सक्नेजतिले चिरई तरेर पढ्न जान्छौं, नसक्ने बीच बाटोबाटै घर फर्किनुपर्छ ।’ नदी तर्दा कहिलेकाहीं किताब कापी भिज्ने गरेको उहाँले बताउनुभयो । कक्षा ६ मा अध्ययनरत अर्का विद्यार्थी बन्दना पालले चिरई नदीकै कारण कैयौं पटक कक्षामा उपस्थित हुन नसकेको बताउनुभयो । ‘हिउँदको चिसोमा होस् या बर्खामा, बाह्र्रै महिना चिरई नदी तरेर विद्यालय जानुपर्छ, उहाँले भन्नुभयो– ‘चप्पल बग्छन्, कपडा भिजेका हुन्छन् ।’ उहाँले भन्नु भयो ।
थरौलीमा रहेको आधारभुत विद्यालय थरौलीमा पाँच सय बढी विद्यार्थीले पढ्छन् । जसमध्ये चिरई नदीपारिका करिब दुई सय विद्यार्थी छन् । उनीहरूलाई दैनिक विद्यालय जान र फर्किने क्रममा नदी तर्न समस्या हुने गरेको छ । विद्यालयका प्रधानाध्यापक तुलबहादुर सारुले चिरईमा पुल नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको बताउनुभयो । ‘पुल नहुँदा विद्यार्थीहरुले जोखिम मोलेर नदी पार गर्ने गरेको बताउँदै बर्खाको समयमा चिरई पारीका आधा बढी विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेको उहाँले बताउनुभयो ।
