भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा छ : प्रधानमन्त्री

सेयर गर्नुहोस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो कार्यकालमा घोषणा गरेको राष्ट्रिय खेल भलिबललाई विशिष्ट योगदान गर्ने इच्छा भएको भन्दै आउन लागेको नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताउनुभएको छ ।

स्व. नेता पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजना भएको प्रथम पोस्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७९ को उद्घाटनपछि बोल्दै प्रधानमन्त्री प्रचण्डले भलिबलमा विशिष्ट योगदान गर्ने इच्छा रहेको बताउनुभएको हो । दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरे पनि भलिबल विकासका लागि अपेक्षाअनुसार नभएको भन्दै उहाँले तेस्रो कार्यकालमा भलिबललाई अगाडि बढाउन सहयोग गर्ने वाचा गर्नुभएको हो ।

पोस्टबहादुर बोगटीको सम्झनामा आयोजना गरिएको प्रतियोगितालाई पोस्टबहादुर प्रतिष्ठानले आयोजना गरेको हो । प्रतियोगितामा तीन विभागीय र तीन प्रदेशका टोलीकाे सहभागिता छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले चीनको हान्झाउमा आउँदाे वर्ष हुन लागेको एसियन गेम्समा महिला टाेलीकाे सहभागिता निश्चित भइसकेको अवस्थामा पुरुष टाेलीकाे पनि सहभागिता आवश्यक रहेको भन्दै तयारीमा राखेप जुटिरहेको बताउनुभयो ।

त्रिपुरेश्वरकाे राखेपकाे कभर्ड हलमा आयोजना भएकाे प्रतियोगिता पाँच दिनसम्म सञ्चालन हुनेछ । लिग कप नकआउटको आधारमा आयोजना हुने प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलीले एक लाख र सान्त्वना टोलीले ५० हजार रुपैयाँ पाउनेछ । यस्तै विधागत उत्कृष्ट सर्भर, लिबेरो, स्पाइकर, ब्लकर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् ।

Facebook Comments Box