२४ घण्टाभित्र स्पष्टीकरण दिन सांसद श्रेष्ठलाई रास्वपाको निर्देशन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि स्पष्टिकरण पेश गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ।
रास्वपाले एक विज्ञप्ति जारी गर्दै छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारवाही नगर्न नगराउन समेत डा. श्रेष्ठलाई निर्देशन दिएको जनाएको छ।
साथै पार्टीले केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न डा. श्रेष्ठलाई निर्देशन दिएको छ ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बन्नुभएका सांसद डा. ढाका कुमार श्रेष्ठको सञ्चारमाध्यममा सार्वजनिक भएको टेलिफोन संवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । डा. श्रेष्ठको स्वरमा स्वास्थ्य मन्त्री बन्न पैसा दिनुपर्छ भन्ने संवाद रहेको उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिइएको छ’, जारी विज्ञप्तिमा भनिएको छ।
