महावीर जयन्तीमा राष्ट्रपतिको शुभकामना

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गरेको मार्गदर्शन परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएका छन्।

‘समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपतिको सन्देशमा भनिएको छ।

हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीमा विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम आयोजना गरी महावीर जन्मजयन्ती मनाइन्छ। महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गरेका थिए।

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ।

Facebook Comments Box