नयाँदिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

सेयर गर्नुहोस

काठमाडौं : भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेसनबाट ७ जना नेपाली बालबालिकाको उद्धार गरिएको छ।

एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो। बाल कल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाईन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४ सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीले बताएका छन् ।

नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीले बालबालिकाहरूको उद्धार गरेका हुन्।

समारोहमा बोल्दै दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताए।

उनले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रुपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभनमा दिल्ली पुर्याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताए।

उनले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरू धेरै दिल्ली पुग्ने गरेको बताए।

बालबालिकाहरू घरको आर्थिक अवस्था कमजोर रहेकाले ठूला शहर घुम्ने रहर र प्रलोभनमा परेर दिल्ली पुग्ने गरेको पाइएको उद्धारमा खटिएकाहरुले बताए ।

Facebook Comments Box