करिब ५ सय तिब्बती शरणार्थीलाई नागरिकता दिने जिल्ला प्रशासनका नासु पक्राउ

सेयर गर्नुहोस

काठमाडौं । तिब्बती शरणार्थीलाई आर्थिक चलखेलका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नायब सुब्बा देवराज गौतम पक्राउ परेका छन् ।

यसअघि पक्राउ परेका अभियुक्तको बयानको आधारमा प्रहरीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो ।

गौतम लामो समयदेखि जिल्ला प्रशासनको नागरिकता फाँटमा कार्यरत थिए । उनले सयौँ तिब्बतीलाई फर्जी कागजपत्रका आधारमा नागरिकता दिन सघाएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सो घटनामा संलग्न चारजनालाई यसअघि पक्राउ गरिसकेको छ ।

लेखापढी व्यवसायी कृष्णबहादुर कटवाल, हिरालाल सिवाकोटी, नक्कली बाबु बनेका न्युल्केस श्रेष्ठ र तनहुँको शरणार्थी क्याम्पमा बस्दै आएका लोब्साङ ठिन्लेलाई ५ चैतमा पक्राउ गरेको थियो ।

उनीहरूमाथिकै बयानको क्रममा नासु पक्राउ परेका हुन् । प्रशासनका अन्य कर्मचारीहरू पनि अनुसन्धानको दायरामा रहेको प्रहरी स्रोत बताउँछ । सो गिराेहले करिब पाँच सय तिब्बतीलाई मिलेमतोका आधारमा नागरिकता दिएको प्रहरी आकलन छ । धेरैजसो यही वर्ष दिइएको थियो ।

वास्तविक नेपालीले नागरिकता लिन कठिन हुनेमा यसरी सयौँ शरणार्थीलाई नागरिकता दिएको खुलेपछि गृह मन्त्रालयले भने यो विषयमा आन्तरिक छानबिनसमेत गरेको छैन ।

कतिसम्म भने एकै व्यक्ति पाँचजना शरणार्थीको बुबा बनेर जिल्ला प्रशासन उपस्थित भई नागरिकता दिलाएका थिए ।

Facebook Comments Box