‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमानमा मन्त्री भए : ओली

सेयर गर्नुहोस

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरू वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन्।

एमालेको पक्षमा छैनौं भन्नेहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरू बनाएको ओलीको तर्क थियो। उनले सत्तारुढ दलहरू दशतिर फर्केकाले उनीहरूबाट देश बन्नै नसक्ने पनि दोहोर्‍याए।

​आइतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एउटा नीति, एउटा विचार, एउटा संगठनले नेतृत्व गर्नुपर्ने तर्क गरे।

दशजनाले दशतिर तानेकाले देशको रथ कता जाने भन्ने प्रश्न वर्तमान सरकारमाथि रहेको ओलीको भनाइ थियो। उनले एमालेले देश बनाउन राष्ट्रिय शक्ति निर्माणको अभियानलाई अघि बढाएको दाबी समेत गरे।

उनले भने, ‘अहिले केका मन्त्री हुन्, कस्ता मन्त्री हुन्? कस्तो गठबन्धन हो? यस्ता कुराबाट हामी देश बनाउन सक्दैनौं। एउटा नीतिमा देश चल्नुपर्छ। एउटा संगठनले नेतृत्व गर्नुपर्छ। दशतिर फर्केका छन्। त्यस्ताले कहाँ पुर्‍याउँछन् देश ? १० वटा पार्टीले दशतिर तानेको छ। बुझेसुझेको केही छैन। भवितव्यमा दुईवटा सिट आयो। एमालेका विरुद्ध बोले, मन्त्री भए। जान्नुसान्नु केही पर्दैन। एमाले विरोधी हुँ भनेपछि मन्त्री बन्ने योग्यता पुग्छ।’

अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरूले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए।

उनले एमाले एक्लैले बहुमत ल्याएर देश बनाउन चाहेको पार्टीले देशव्यापी रूपमा ग्रासरुट अभियान चलाएको स्पष्ट पारे। आफूहरू अब गठजोडको पक्षमा नलाग्ने पनि ओलीले प्रष्टयाए।

Facebook Comments Box