हिन्दमहासागरीय घेराबन्दीमा चीन

सेयर गर्नुहोस

विपीन देव

विश्व कूटनीतिमा घेराबन्दी र गोलाबन्दी चरम रूपले बढिरहेको छ । गठबन्धनको क्रमभंगता कूटनीतिको दिनचर्या भइरहेको छ । अमेरिकी नेतृत्वमा पश्चिमा शक्तिको घेराबन्दी, रसिया–चीनबीच बढ्दो गठजोड र मध्यएसियामा चीनको सक्रियताजस्ता परिघटनाहरूले गर्दा कूटनीतिमा व्यापक बहस र विमर्श भइरहेको छ । आर्थिक शिथिलीकरणका बीच कूटनीति सडकीकरण भइरहेको छ । यही परिवेशमा कूटनीतिको अभ्यास ट्रान्सएटलान्टिक (यूरोप) बाट ट्रान्सप्यासिफिकमा (एसिया) मा अवतरित भएको छ । हुन त ट्रान्सप्यासिफिक (एसिया) आर्थिक हिसाबले अब्बल हुनुकै कारणले सामरिक कसरत पनि प्रचूर मात्रामा देखिन्छ ।

विश्वको दोस्रो आर्थिक शक्ति चीन हुनु, तेस्रो शक्ति जापान हुनु, पाँचौं शक्ति भारत हुनु र पूर्वी एसियाका मुलुकहरू (आसियान) मा आर्थिक स्थायित्व हुनुजस्ता कारणहरूले गर्दा कूटनीतिको अर्जुन दृष्टि पनि एसियामा नै रहेको छ । वर्तमान परिवेशमा जी–सेभेनको अध्यक्षता जापानले गर्नु र जी–ट्वान्टीको अध्यक्षता भारतले गर्नु पनि एउटा महत्वपूर्ण घटना हुनगएको छ । यस अर्थमा समेत एसियाप्रति सञ्चार जगत्को अभिरूची बढेको देखिन्छ । अपेक्षाकृत जापानका प्रधानमन्त्री किसिदाको २१ मार्च २०२३ को दुईदिने भारत यात्रालाई विश्व सञ्चार जगत्ले महत्वपूर्ण स्थान दिएको छ । यसका विभिन्न आयाम छन् । जापान र भारतबीच वार्षिक सम्मेलन सन् २००६ देखि नै सुरु भएको छ ।

यसमा क्रमभंगता भएता पनि हालसम्म भारत र जापानबीच १४ पटक वार्षिक सम्मेलन (एनुअल समिट) सम्पन्न भएको छ । जापान र भारतबीचको सामीप्यताको प्रमुख कारणमध्ये दुई देशकाबीच भएको हिन्दमहासागरीय नीति हो । हिन्दमहासागरीय नीतिलाई अगाडि बढाउने जापानी पूर्वप्रधानमन्त्री आवे नै हुन् । भारतीय संसद्लाई सम्बोधन गर्ने क्रममा उनले हिन्दमहासागरीय नीतिको अवधारणा अगाडि सारेका थिए । सन् २००७ मा अवधारणा आएता पनि हिन्दमहासागरीय नीतिअन्तर्गत प्रजातान्त्रिक कित्ताका मुलुकहरूबीच गोलाबन्दी सन् २०१७ देखि सुरु भएको देखिन्छ । यसको कारक तत्वमध्ये चीनको आक्रमकता नै हो ।

भारतको ठूलो बजारबाट लाभ लिने जापानको लक्ष्य रहेको छ

जापानसँग सिनकाकु टापुमा चीनको विवाद हुनु, ग्वादर बन्दरगाहमा चीनको लगानी हुनु, जिबुतीमा चीनको सैनिक अड्डा हुनु र श्रीलंकाको हम्बनटोटा बन्दरगाह चीनको मातहतमा हुनुजस्ता कारणले गर्दा हिन्दमहासागरीय क्षेत्र आक्रान्त रहेको छ । साथसाथै, पूर्वीय चीन सागर र दक्षिण चीन सागरमा चीनको सैनिक दबदबाका कारणले गर्दा आसियानका मुलुकहरूसमेत चिनियाँ दबाबमा रहेका छन् । यही पृष्ठभूमि र परिदृश्यमा द्विपक्षीय सम्बन्धका साथसाथै जापानसँग चर्तुभूजीय सम्बन्धमा (क्वार्ड) समेत भारतको साझेदारीलाई उच्च महत्व दिइएको छ । हुन त जापान र भारतको द्विपक्षीय सम्बन्ध सघन रहेको छ । जापानले आउने पाँच वर्षमा भारतका विभिन्न विकास योजनाहरूलाई लक्षित गर्दै पाँच ट्रिलियन जापानी ऐन भारतमा लगानी गर्ने भएको छ । सायद हालसम्म घोषणा भएको लगानीमध्ये किसिदाको सबभन्दा ठूलो लगानी हो ।

सन् २०१४ को आफ्नो पहिलो जापान यात्रामा मोदीले बुलेट ट्रेनको योजना आफ्ना समकक्षीसँग अगाडि सारेका थिए । यो गुरूयोजना जापान र भारतको सक्रियतामा अगाडि बढिसकेको छ । मुम्बई र अहमदावाद जोड्ने बुलेट टे«नको लगानी पनि उल्लेख्य रहेको छ ।

जापानका ठूला कम्पनी जायकाको प्राविधिक सहयोगमा बन्न लागेको सो योजनालाई सफल बनाउन जापानका प्रधानमन्त्रीले ८० हजार करोड भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेका छन् । किसिदा र मोदीबीच व्यापार, सुरक्षा, विद्युतीकरण, साइबर सुरक्षा, प्रविधि हस्तान्तरणजस्ता विभिन्न क्षेत्रमा समेत सम्झौता भएको छ । सन् २०२३ मा नै भारत र जापानले आन्तरिक व्यापार बढाउन पर्यटन उत्सव मनाउने जमर्काे गरेका छन् । बोधगयालगायत विभिन्न धार्मिक स्थलमा जापानी पर्यटकलाई आकर्षण गर्न भारत गुरूयोजनाका साथ अगाडि बढिरहेको छ । नेपालले पनि यो अवसरबाट लाभ लिन आफ्नो कूटनीतिलाई सक्रिय बनाउनुपर्छ ।

राजनीतिमा स्थायित्वको कमी र भ्रष्टाचारको सञ्जालले गर्दा जापानीहरूको रूची नेपालमा कम भएको देखिन्छ

बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रित गर्दै र चिसो हावापानीको वातावरणलाई उपयोग गर्दै जापानी पर्यटकलाई आकर्षण गरेको खण्डमा नेपाल पनि लाभान्वित हुनसक्नेछ । किसिदाले भारतबाहेक दक्षिण एसियामा पनि पूर्वाधार विकासका लागि चासो लिएका छन् । जापानी सरकारको सञ्चित घनराशि लगभग ७५ बिलियन अमेरिकी डलर भारतलगायत अरू मुलुकको पूर्वाधार विकासका लागि लगानी गर्ने किसिदाको घोषणा रहेको छ । जापान र भारतको बढ्दो सामीप्यताको लाभ नेपालले पनि लिनसक्छ । राजनीतिमा स्थायित्वको कमी र भ्रष्टाचारको सञ्जालले गर्दा जापानीहरूको रूची नेपालमा कम भएको देखिन्छ ।

हाल जाइकाले भारतमा ७७ वटा योजनाहरू परिचालित गरेका छन् । जापानी लगानीमा भएका ती योजनाले भारतको आर्थिक विकासदरको गतिलाई बढाउने अर्थविद्हरूको बुझाइ रहेको छ । यी आर्थिक कारोबारका साथै जापान र भारतबीच सामरिक साझेदारी पनि व्यापक रूपमा अघि बढिरहेको छ । जापान र भारतको संयुक्त लगानीमा हतियार उत्पादन कारखानासमेत निर्माण गर्ने सहमति भएको छ । विगतका दिनहरूमा मालावार सैनिक अभ्यासअन्तर्गत भारत र जापानको जलसेनाले संयुक्त सैनिक अभ्यास पनि गरिनै रहेका छन् ।

लद्दाखका बोर्डरमा चीनले भारतलाई सैन्य दबाब दिँदा भारतले जापानको सहयोगमा हिन्दमहासागरमा चीनलाई सैनिक दबाब दिएको थियो । विगतका दिनमा चीन र जापानबीच समेत चिसोपन बढिरहेको छ । सन् २०१४ मा चिनियाँ राष्ट्रपतिले सार्वजनीक रूपमै इतिहासलाई बिम्ब बनाएर जापानलाई निन्दा गरेका थिए । अर्थात् चिनियाँ मानसपटलमा जापानप्रति नकारात्मक भावना जागृत गर्न चिनियाँ कम्युनिस्ट पार्टी सक्रिय रहेको छ । हिन्दमहासागरीय क्षेत्रमा चीनको दवदवालाई सन्तुलनमा ल्याउन द्विपक्षीय र चर्तुभूजीय समीकरणअन्तर्गत जापान र भारत एकठाउँमा उभिएका छन् । प्राविधिक रूपमा जापान अहिले पनि संसारमा अब्बल रहेको छ । भारतको ठूलो बजारबाट लाभ लिने जापानको लक्ष्य रहेको छ । यस अर्थमा जापान र भारतको सामीप्यताको प्रभाव अन्य दक्षिण एसियाली देशहरूमा पनि पर्न सक्नेछ ।

Facebook Comments Box