कृष्णनगरबाट भैरहवा मेडिकल कलेज जाने बिरामीलाई निःशुल्क बस सेवा

सेयर गर्नुहोस
विजयनगर। कपिलवस्तुको कृष्णनगर नगरपालिकादेखि भैरहवा मेडिकल कलेजका लागि निःशुल्क बस सेवा सञ्चालनमा आएको छ । कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लागि शुक्रबार निःशुल्क बस सेवाको उद्घाटन गरेका छन् । हरेक हप्ताको सोमबार, बुधबार र शुक्रबार गरि ३ दिन बिरामीहरुले बस सेवा पाउने भैरहवा मडिकल कलेजले जनाएको छ ।
कृष्णनगर नगरपालिकाको प्रतिनिधित्वमा भैरहवा मडिकल कलेज अस्पतालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरिएको हो । कृष्णनगर बजार हुँदै बहादुरगञ्ज, मोहन मिष्ठान भण्डार, छोट्की तौलिहवा, कोदहा, गोपालपुर, पिपरहवा, बाणगंगा पुल, बर्गदा, जुगनी, मैडहवा, बरईपुरा, राजपुर, जिगिना, तौलिहवा अस्पताल हुँदै भैरहवा मेडिकल कलेज बस जाने जनाइएको छ । मेडिकल कलेज जाने बस कृष्णनगर नगरपालिकाको गेटबाट छुट्ने जनाइएको छ ।
कृष्णनगरदेखि बस बिहान ८ बजे छुट्ने र भैरहवा मेडिकल कलेज अस्पतालबाट बेलुका ४ बजे बस छुट्ने बताइएको छ । नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका सर्वसाधारण बिरामीहरुलाई मध्यनजर गर्दै भैरहवा मेडिकल कलेजको निःशुल्क बस सेवा सञ्चालन भइरहेको हुँदा अस्पतालसम्म जाने, आउने बिरामीहरुलाई नगरपालिकाको पहलमा बस सुविधा दिएको बताए ।
बस सेवा सञ्चालनले बिरामीलाई उपचारका लागि आउने जाने समस्याबाट मुक्ति दिलाउने उद्धेश्यकाका साथ बस सेवा सञ्चालन गरिएको शाहले बताए । उनले अति विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । भैरहवा मेडिकल कलेजका प्रशासन संयोजक तेज प्रसाद केसीले मेडिकल कलेजले दिने सेवा सुविधाहरु बिरामीलाई छिटो–छरितो रुपमा उपलब्ध गराउने बताए । उनले अति विपन्न, गरिब परिवारका बिरामीलाई मेडिकल कलेजबाट छुट हुने सुविधा दिइने जनाए ।
Facebook Comments Box