राप्रपाले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ। सोमबार बसेको पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ। चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको छ। कमाण्डरहरूले आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने श्रेष्ठले जानकारी दिए।
उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ। यसैगरी पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका सांगठनिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको श्रेष्ठले जानकारी दिए।
Facebook Comments Box
