विजयनगरमा युवा लक्षित समिक्षा तथा आगामी योजना सम्बन्धी अन्तरक्रिया सम्पन्न
कृष्ण पौडेल, विजयनगर ।
युवा लक्षित कार्यक्रमको समिक्षा तथा आगामी योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार जिल्लाको विजयनगर गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको जनाइएको छ । आदर्श युवा क्लब बद्धौरको आयोजना र इन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा विजयनगर गाउँपालिकामा युवा लक्षित कार्यक्रमा समिक्षा तथा आगामी योजना सम्बन्धी अन्तक्रिया गरिएको क्लबका सचिव प्रभात न्यौपनेले जानकारी दिए ।
गाउँपालिका विभिन्न शाखाका प्रमुख, जनप्रतिनिधि र गाउँपालिकाका युवाहरुको सहभागीतामा समिक्षा तथा आगामी योजनाको बारेमा बृहत छलफल गरिएको क्लबका अध्यक्ष डिल्लीराम तिमिल्सिनाले बताए । गाउँपालिकाले युवालाई लक्षित गरि कसरी समेटेर बजेट तथा कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडी बढिरहेको भन्ने विभिन्न विषयवस्तुमा समिक्षा गरिएको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले युवा लक्षित कार्यक्रमहरु राख्न आवश्यक रहेको बताइन् । उनले युवालाई पेसागत रुपमा अगाडी सार्न सके मात्र रोजगारीको सिर्जना हुने बताइन् । उनले युवाहरुलाई विभिन्न स्वरोजगारका तालिमहरु दिएको भए तापनि कार्यान्वयनमा नआएको भन्दै दुख व्यक्त गरिन् । उनले तालिम लिने र काम गर्नै नखोज्ने हुँदा युवाहरुको कार्यक्रमहरु उपलब्धीमुलक नदेखिएको जिकिर गरिन् ।
यस्तै प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले युवाहरुको माग अनुसार आगामी दिनमा बजेट तथा कार्यक्रमहरु समावेश गर्ने बताए । पेसागत रुपमा काम गर्ने युवालाई गाउँपालिकाले आवश्यक सक्दो सहयोग गर्ने उनले बताए । युवाहरुले नयाँ भिजनसहित विभिन्न सीप सिकेर ब्राण्डिङलाई पेशका रुपमा अँगाल्दै लैजानुपर्नेमा जोड दिए ।

