विजयनगरमा २ दिने समविकास तालिम सुरु
घनश्याम भर, विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका २ दिने समविकास तालिम सुरु भएको छ । सिद्धिपुर सामाजिक महिला विकास संस्थाको आयोजना र विजयनगर गाउँपलिकाको सहयोगमा समविकास तालिम सञ्चालन गरिएको छ । लैँगिक हिंसा न्यूनीकरणका लागि महिला पुरुष समविकास तालिमको सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले श्रीमान् श्रीमतिले एक अर्काको कुरा बुझ्न आवश्यक रहेको बताउनुभएको छ । उहाँले आपसी भेदभाव न्यूनीकरण गर्न महिला पुरुषले सामान दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो । सँस्कार, सस्कृति, धर्म दम्पत्तिका फरक बुझाइका कारण हिंसा हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले बिबाह एउटा पवित्र बन्धन, सामाजिक संस्कार र प्राकृतिक नियम भएको बताउँदै जोडीलाई सफल बनाउन यस समविकास तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले आशंका कारण सम्बन्ध विच्छेद, आत्महत्या, हिंसालाई न्यूनीकरणमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले एकआपसको समझदारीले अनुशासित, सभ्य समाज निर्माण र सभ्य परिवार निर्माण हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागीहरुलाई तालिम पश्चात यसलाई घर, टोल र गाउँहरुमा अभियानकै रुपमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष थापाले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै दाम्पत्तीय जीवनलाई लैंगिक हिंसारहित सुखमय बनाउन अनुरोध गर्नुभयो ।
यस्तै सिद्धिपुर सामाजिक महिला विकास संस्थाकी अध्यक्ष सीता न्यौपानेले विश्वमै महिला हिंसा बढी भएको बताउँदै सबैले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले लैँगिक हिंसा न्यूनीकरणका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताउनुभयो । उहाँले दाम्पत्तीय जीवनलाई सफल बनाउन एकअर्काको बीचमा समझदारी हुनुपर्ने बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने समविकास तालिमलाई पोम नाराणण पौडेलले प्रशिक्षण दिने जनाएको छ । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, महिला तथा बालबालिका शाखा प्रमुख यमकला रेस्मी लगायतको उपस्थिति रहेको थियो ।
