तीन करोड बिगो माग गर्दै ऊर्जा व्यवसायीविरुद्ध मुद्दा दायर
काठमाडौं : जिल्ला अदालत काठमाडौंमा ऊर्जा व्यवसायी गुरुप्रसाद न्यौपानेविरुद्ध तीन करोड २३ लाख बिगो र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको छ।
धितोपत्रको भित्री कारोबार (इन्साइडर ट्रेडिङ) को अभियोगमा न्यौपानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो। नेपाल धितोपत्र बोर्डको जाहेरीपछि प्रहरीले अनुसन्धान गरेको थियो। रिडी पावर कम्पनी लिमिटेडमा अध्यक्ष रहँदा न्यौपानेले सोही कम्पनीको शेयर कारोबार गरेको र त्यसबाट तीन करोड २३ लाख अनधिकृत लाभ लिएको देखिएको अभियोगपत्रमा छ।
न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैधरूपमा शेयर कारोबार गरेको ठहर गर्दै नेपाल धितोपत्र बोर्डले २०७९ मंसिर २४ गते कारबाही गर्ने निर्णय गरेको थियो। सोहीअनुसार अनुसन्धानपछि न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो।
Facebook Comments Box
