विजयनगरमा भूमि सम्बन्धी समस्या समाधान विषयमा सराेकारवालासँग छलफल
घनश्याम भर, विजयनगर । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा भूमि सम्बन्धी समस्या समाधान विषयमा सराेकारवालासँग छलफल गरिएको गाउँपालिकाले जनाएको छ । लगत सङ्कलन राेकिएकाे भए पुनः सञ्चालन गर्नुपर्ने, राष्ट्रिय भूमि आयाेगकाे कार्यविधि, प्रचलित ऐेन, कानुन बनाउने बारेमा छलफल तथा प्रशिक्षणसमेत गरिएको छ ।
राष्ट्रिय भूमि आयाेग सम्बन्धी पालिकाहरुले निर्वाह गर्नुपर्ने कार्यहरुकाे बारे समेत बृहत छलफल गरिएको विजयनगर राष्ट्रिय भूमि आयाेग भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसाेबासी सेवा केन्द्रका प्रमुख बासुदेव जमरकट्टेलले जानकारी दिए ।
राष्ट्रिय भूमि आयाेग जिल्ला अध्यक्ष शिव पाैडेलले एउटै जग्गा दुई जनाकाे नाममा सिफारिस भएमा ठुलो समस्या सिर्जना हुने बताउँदै कसकाे जग्गा हाे ? सिफारिस गर्ने काे हाे ? उसकाे जग्गा हाे की हाेइन ? यकिन गरेर मात्र सिफारिस गर्नुपर्ने बताए । याे गम्भीर विषय भएकोले यसलाई हल्का रुपमा नलिन उनले अनुराेधसमेत गरे । गलत सिफारिस भएमा उनी आफै अपराधी ठहरिने र कारवाहीकाे भागीदारसमेत हुने उनकाे भनाइ छ ।
गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले जमिन नै जीवन भएकाे बताउँदै लालपुर्जा उपलब्ध गराउने विषय गाउँपालिका गम्भीर भएको बताए । उनले गाउँपालिकामा बनेकाे भूमी समस्या समाधान सहजीकरण समितिले पहल गर्ने बताए । प्रत्येक वडामा भूमि समस्या समाधान समिति बनाई यस विषयमा अगाडी बढ्ने उनले बताए । गाउँपालिकाले निरन्तर सुकुम्बासी समस्या समाधानमा लाग्ने अध्यक्ष थापाले बताए ।
कार्यक्रममा राष्ट्रिय भूमि आयाेग जिल्ला सदस्य सचिव सुबास न्याेपाने, सदस्य नरेन्द्रभान केसी लगायत सराेकारवालाकाे उपस्थितिमा भूमि सम्बन्धी समस्या समाधान विषयमा कार्यक्रम सम्पन्न भएको छ ।
