कुकुरले टोकेर टेकु अस्पताल पुग्ने विरामीको संख्या बढ्दो
काठमाडौं : पछिल्लो समय कुकुरले टोकेर अस्पताल पुग्ने विरामी संख्या बढ्न थालेको छ। यसले गर्दा रेबिजविरुद्धको खोप लगाउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ३०-४० जना विरामी पुग्ने गरेका हुन्।
यो संख्या बढेर शुक्रबार एकै दिन १३० जना विरामी रेबिजविरुद्धको खोप लगाउन आएको बताउँछन् टेकु अस्पतालका ओपिडी इन्चार्ज शंखर पाण्डे।
ओपिडी इन्चार्ज पाण्डेका अनुसार पछिल्ला दिनमा टेकु अस्पतालमा रुघाखोकी, भाइरल ज्वरोका विरामीसँगै कुकुर तथा जनावरले टोकेका विरामी उपचारका लागि धेरै आउने गरेका छन्।
पाण्डेले भने‚ ‘मौसम परिवर्तनसँगै भाइरल ज्वरो, रुघाखोकीका विरामी विस्तारै बढ्नु त स्वभाविकै हो तर अहिले कुकुर लगायतका जनावरले टोकेका विरामी रेबिजविरुद्धको खोप लगाउन आउने संख्या धेरै छ। हिजो मात्रै बहिरंग विभागमा कुकुरले १३० भन्दा बढी टोकेका विरामी आउनु भएको थियो।‘
हाल टेकु अस्पतालको आइसियुमा कुकुरको टोकाइबाट रेबिज संक्रमण भई प्यूठानबाट आएका एक विरामीको उपचार भइरहेको समेत पाण्डेले बताए। ‘केही दिनअघि रेबिजको जस्तै लक्षण लिएर प्यूठानबाट आएका एकजना विरामी रेबिज पुष्टि भएपछि हाल हामीले आइसियुमा उपचार गरिरहेका छौँ’‚ पाण्डेले भने।
रेबिज संक्रमण भएको कुकुर तथा अन्य जनावरले टोकेपछि समयमै रेबिजविरुद्धको खोप नलगाएपछि रेबिजको लक्षण देखियो भने विरामीलाई सन्चो नहुने हुँदा कुकुर र अन्य जनावरले टोकेपछि समयमै एन्टिरेबिज खोप लगाउनुपर्ने पाण्डेको भनाइ छ। ‘रेबिज संक्रमण देखिसकेपछि विरामीलाइ सन्चो हुँदैन यदि कुकुर तथा अन्य जनावरले टोक्यो र त्यसमा रेबिज भाइरस रहेछ भने १० दिनमा त्यो जनावर मर्ने र त्यही समयसम्म टोकेको ४८ देखि ७२ घण्टासम्म भ्याक्सिन लगाउनुपर्ने हुन्छ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७८ साल मंसिरदेखि रेबिजविरुद्ध दिइने एन्टिबडी सेवा सातै प्रदेशमा विस्तार गरिसकेको छ। प्रदेश १ मा कोशी अस्पताल, मधेश प्रदेशमा जनकपुर प्रादेशिक अस्पताल र नारायणी अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन पाइने बताए।
त्यसैगरी बागमतीमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भरतपुर अस्पताल, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट रेबिजविरुद्धको इम्युनोग्लोबुलिन निःशुल्क दिइने गरेको छ।
काठमाडौँ उपत्यकाबाहिर ९ वटा स्वास्थ्य संस्थामार्फत रेबिजविरुद्धको इम्युनोग्लोबुलिन एन्टीबडी नि:शुल्क लिन सकिन्छ। काठमाडौँमा भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र निःशुल्क प्रदान हुँदै आएको छ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक एक सयजना नयाँ बिरामी देखा पर्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा रेबिजका कारणले करिब ६० हजार मानिसको मृत्यु हुने गरेको छ। एक करोड मानिसलाई रेबिजको उपचार आवश्यक पर्ने गरेको छ।
