बँदेलको मासुसहित ३ जना पक्राउ
चन्द्रौटा : कपिलवस्तुमा ओसारपसार गर्दै गरेको बँदेलको मासुसहित ३ जना पक्राउ परेका छन्। डिभिजन वन कार्यालय गौतम बुद्धले बिहीबार साँझ शिवराज नगरपालिका-२ हल्लानगर हुँदै बँदेलको मासु चन्द्रौटातर्फ ल्याउँदै गर्दा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विजयनगर-१ नेवलीगंजका ५६ वर्षीय तुलसीराम थारु, विजयनगर-१ मधनगरका दीपक मल्ल र शिवराज-९ बस्ने ४५ वर्षीय पहलमान थारु रहेका छन्। लु १ ह ३२३१ नम्बरको अटोमा ३ वटा बोरामा २५० किलो बँदेलको मासुसहित उनीहरूलाई पक्राउ गरिएको सहायक वन अधिकृत प्रेमसंकर गुप्ताले बताए।
पक्राउ परेका तीनै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही गरिने गुप्ताको भनाई छ। बँदेलको मासु शुक्रबार नष्ट गरिएको छ।
Facebook Comments Box
