कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै : राष्ट्रपति उम्मेदवार टुंगो लगाउने

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रपति उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिवार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको छ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार राष्ट्रपतिको निर्वाचनका लागि शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्ने भएका कारण कांग्रेसले कार्यसम्पादन समितिको बैठकमार्फत उम्मेदवारको टु‌गो लगाउन लागेको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थित हुन सूचित गरिएको छ।

मनोनयन दर्ताको अघिल्लो दिन शुक्रबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत आठ दलको बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको थियो।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने अनौपचारिक निर्णय गरेको थियो।

Facebook Comments Box