दिलीप महतो हत्याका मुख्य दोषीलाई २५ वर्ष कैद सजाय

सेयर गर्नुहोस

काठमाडौं : धनुषाका दिलीप महतो हत्यामा मुख्य दोषी ठहरिएका २ जनालाई जन्मकैद सजाय तोकिएको छ। ​मतियारको रुपमा दोषी पाइएका अर्का एक जनालाई त्यसको आधा सजाय फैसला भएको छ।

जिल्ला अदालत धनुषाले मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैद र पीडितलाई ५/५ लाख क्षतिपूर्ति जरिवाना हुने फैसला गरेको श्रेस्तेदार विकास बस्नेतले  जानकारी दिए।

उनका अनुसार हत्याका मतियार दोषी ठहर भएका जितेन्द्र महतोलाई भने १२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना हुने सजाय तोकिएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले दोषीबाट क्षतिपूर्ति असुल नभए सरकारको विपदकोषबाट दिलीपको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश भएको छ।

गत फागुन ३ गते जिल्ला अदालतले ३ जनालाई दोषी ठहर गर्दै अन्य ४ अभियुक्तहरूलाई सफाई दिएको थियो। क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदारहरू सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवले सफाई पाएका थिए।

२०७६ पुस २५ गते बिहान घरनजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय दिलिपको निर्मम हत्या भएको थियो।

Facebook Comments Box