राष्ट्रिय सभाका अध्यक्ष र यूएईका संसद् प्रमुखबीच भेटवार्ता

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संयुक्त अरब इमिरेट्स (यूएई) को संघीय राष्ट्रिय परिषद्का प्रमुख शक्र घोबासबीच भेटवार्ता भएको छ।

अबुधाबीस्थित परिषद् कार्यालयमा सोमबार भएको भेटका क्रममा दुई देशका संसद् प्रमुखबीच द्विपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ।

तिमिल्सिनाले यूएईमा नेपालीहरूले आर्जन गरेको सिप नेपालमा पनि प्रयोग गरी देशको विकासमा योगदान पुर्‍याउने सम्भावना रहेको बताए। उनले यूएईमा काम गर्ने नेपालीको हकहित तथा सुरक्षा अभिवृद्धि गर्ने सम्बन्धमा पनि दुई देशबीच भइरहेको सहकार्यलाई थप सुदृढ गर्नुपर्ने बताए।

उनले यूएईका ठूला लगानीकर्तालाई नेपालको पर्यटन, जलविद्युत्, चिकित्सा शिक्षा, पूर्वाधार र सेवा लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे। ​घोबासले नेपाली नागरिकले यूएईको विकासमा पुर् याएको योगदानको प्रशंसा गरे।

भेटघाट क्रममा नेपालको तर्फबाट मुस्लिम आयोगका अध्यक्ष माननीय समिम मियाँ अन्सारी, नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा यूएईका तर्फबाट परिषदका उच्च अधिकारीहरूको सहभागिता थियो।

Facebook Comments Box