सवारी दुर्घटना न्यूनीकरण गर्न नीतिगत सुधार गर्छुः मन्त्री यादव
कृष्णनगर । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले सवारी दुर्घटना न्यूनीकरणका लागि नीतिगत सुधार गर्ने बताउनुभएको छ । उहाँले मन्त्रालयबाट हुन सक्ने आवश्यक सवारी नीतिहरुको सुधारमा प्रयास गर्ने बताउनुभयो ।
उहाँले मानव जीवनलाई सुरक्षित बनाउन तत्काल हुन सक्ने नीति, नियम निर्माण गर्ने बताउनुभयो । सोमबार राष्ट्रिय सडक समितिले बुटवलमा आयोजना गरेको सुरक्षित सडक तथा दियो यातायात कार्यक्रममा मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
उहाँले मानव जीवन अमूल्य जीवन भएको बताउँदै सवारी चालकको आफ्नै लापरवाहीले बढी सडक दुर्घटना हुने गरेको दाबी गर्नुभयो । उहाँले सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा र मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा अकालमै ज्यान जाने गरेको बताउनुभयो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षाकर्मीहरुलाई आवश्यक सल्लाह–सुझावसहित मन्त्रालयमा पेश गर्न अनुरोधसमेत गर्नुभयो ।
