भारतले दियो २ सय थान मिर्गौला डायलासिस मेसिन

सेयर गर्नुहोस

काठमाडौं : भारतले नेपाललाई २ सय थान मिर्गौला डायलासिस मेसिन प्रदान गरेको छ। नेपाल-भारत कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा ती मेसिन नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई हस्तान्तरण गरे।

मन्त्री गिरीले धेरै मानिसले समयमै डायलासिस गराउन नपाइरहेको अवस्थामा भारतबाट प्राप्त २ सय थान डायलासिस मेसिनले धेरै हदसम्म समस्या हटाउने बताए। ‘हामीले आवश्यक ठाउँमा यी मेसिन पुर्‍याउन सके डायलासिसका लागि समय पर्खिनु पर्ने समस्या हट्छ’, उनले भने, ‘भूकम्प र कोभिडपछि भारतको सहयोग उल्लेखनीय छ। नेपालको स्वास्थ्य तथा पूर्वाधार विकासको क्षेत्रमा भारतले गरेको सहयोग स्मरणीय छ।’

उनले नेपाल र भारतबीच सरकार–सरकार स्तरमा मात्र नभई जनतामाझ पनि सामाजिक र आर्थिक रुपले घनिष्ठ सम्बन्ध रहेको बताए। ‘भारतले पनि छिमेकीलाई प्राथमिकता दिने नीति लिएको छ। यो हाम्रो लागि खुशीको कुरा हो। यही कारण हामी लामो समयदेखि सहकार्य गरिरहेका छौं। भारतबाट स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि जुन सहयोग आएको छ, त्यो सहयोग हाम्रा लागि अमूल्य छ’, गिरीले भने।

Facebook Comments Box