रोयल स्ट्याग कम्पनीको भारतमा अवैध कारोबार , मदिरा नीति उलङघन भए कडा कार्यवाही
काठमाडौं । भारतको वित्तीय अपराध एजेन्सीले फ्रान्सेली कम्पनी पेर्नोड रिकार्डले मदिरा नीति उल्लङ्घन गर्दै खुद्रा विक्रेताहरूलाई आर्थिक सहयोग गरी आफ्नो ब्रान्डका रक्सीले गोदाम भरेर आफ्नो बजार हिस्सा बढाएको खुलासा गरेको छ ।
नेपालमासमेत लगानी गरेर मदिरा उत्पादन गर्दै आएको पेर्नोड रिकार्ड इन्डियाका अवैध गतिविधिले भारतमा यसको अस्तित्व र बजारमाथिको चुनौतीलाई सतहमा ल्याएको छ ।
भारतको प्रवर्तन निर्देशनालयले नोभेम्बरमा दायर गरेको अदालती कागजातहरूमा पेर्नोड इन्डियाले आफ्नो बैंकर एचएसबीसीलाई २०२१ मा दुई अर्ब रुपैयाँ (२ करोड ५० लाख डलर) को कर्पोरेट ग्यारेन्टी उपलब्ध गराएको र त्यसपछि भारतको राजधानी नयाँ दिल्लीमा मदिरा पसलको इजाजतपत्र निकाल्नका लागि सो रकम खुद्रा बिक्रेताहरूलाई ऋण स्वरुप उपलब्ध गराउन आग्रह गरेको उल्लेख छ ।
दिल्ली सरकारको नीतिले उत्पादककर्ताहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खुद्रा बिक्रीमा भाग लिन रोक लगाएको छ । तर पर्नोडले भने कानून विपरीत खुद्रा बिक्रेताहरूमा लगानी गर्न प्रभावकारी रूपमा बैंक ग्यारेन्टी उपलब्ध गराएको हो ।
यद्यपि यी कागजातहरू सार्वजनिक भइसकेका छैनन् र पेर्नोड विरुद्धको आरोपको विवरण शुरुमा समाचार एजेन्सी रोयटर्सले मात्रै प्रकाशित गरेको जनाएको छ ।
तर पेर्नोड रिकार्ड भारतले भने निर्देशनालयको आरोपलाई कडाइका साथ अस्वीकार गर्दै यस विषयमा भारतीय अधिकारीहरूलाई पूर्ण रूपमा सहयोग गर्न जारी राख्ने भनेको छ ।
पेर्नोड इन्डियाका लागि अन्तर्राष्ट्रिय ब्रान्डका प्रमुख रहेका बेनोय बाबु गत नोभेम्बरमा पक्राउ परेका थिए । उनी यस मुद्दामा जेल परेका थिए ।
उनीमाथि भारतीय कानून अन्तर्गत मुद्रा अपचलन (मनि लाउन्ड्रिङ) र दिल्लीको मदिरा नीति नियमहरू उल्लङ्घन गरेको आरोप छ । तर उनले भने गलत काम गरेको अस्वीकार गरेका छन् । तथापि बेनोय बाबुले जमानत खोजेका थिए ।
उनले आफ्नो गिरफ्तारी अवैध भएको र कर्पोरेट ग्यारेन्टीहरू विस्तार गर्ने पेर्नोडको निर्णयमा आफूले कुनै भूमिका नखेलेको बताएका थिए ।
चिभास रिगल र एब्सुल्युट भोड्काको समेत उत्पादक रहेको पेर्नोडले गत वर्ष आयातलाई कम मूल्यको देखाएको आरोपपछि २५ करोड अमेरिकी डलर थप कर मागको सामना गरेको थियो ।
नेपालमा पनि लगानी
पेर्नोड रिकार्ड इन्डियाको समेत लगानीमा नेपालमा विनर्स लिक्वायर्स प्रालि र उद्योगले संयुक्तरुपमा रोयल स्ट्याग उत्पादन गर्दै आएको छ । यस्तै एसपीजी ट्रेडिङले नेपालमा रिकार्डका अन्य मदिरा आयात गर्दै आएको छ ।
पेर्नोड रिकार्ड इन्डिया र विनर्स लिक्वायर्स प्रालिले संयुक्तरुपमा नेपालमा उत्पादन गर्ने रोयल स्ट्यागको राष्ट्रिय वितरकका रुपमा एसपीजी ट्रेडिङ रहेको छ ।
भारत जस्तो ठूलो बजारमै यसरी चलखेल गरेको आरोप लागेको पेर्नोड रिकार्डले नेपालमासमेत लगानी गरेर उत्पादन गरिरहँदा यसको व्यावसायिकतामाथि शंका गरिएको छ ।
नेपाली पेर्नोड रिकार्डका आयातित मदिरा र नेपालमै सीग्रामको रोयल स्ट्यागका ७५०, ३८० र १५० मिलिलिटरका तीन फरक उत्पादन र यसको बजारीकरणमाथि प्रश्न उठेको हो ।
