सरकारले आमसञ्चार सम्बन्धी कानून परिमार्जन गर्दै छ : सञ्चारमन्त्री
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरूप स्थानीय तहसम्म अनुभूति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताइन्।
आइतवार राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालासँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरूप स्थानीय तहसम्म अनुभूति हुने गरी कानूनहरूमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताइन्।
उनले सरकारले आमसञ्चारसँग सम्बन्धित ऐन, कानूनहरूलाई संशोधन, परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयिक सुधार गर्ने बताइन्। मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरूका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन्।
उनले समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधार गर्नुपर्ने औँल्याइन्।
उनले भनिन्, ‘नेपाली सञ्चारक्षेत्रमा देखिएका मिथ्या सूचनाको प्रवाह गर्ने तथा सामाजिक दोष फैलाउनेलाई नियन्त्रण गर्न सञ्चार सबै पक्षको सकारात्मक सहयोग गर्न आह्वान गर्न चाहन्छु। राष्ट्रिय समाचार समितिले जनशक्ति व्यवस्थापनसहित समाचार सेवाको गुणस्तरमा सुधारगरी समयअनकूल बनाई अझ विश्वसनीय, सशक्त र प्रभावकारी समाचार स्रोतको रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता छ।’
उनले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन्।
उनले संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी आर्थिक रूपमा मितव्ययी बन्ने र भौतिक सम्पत्तिको संरक्षण, संवर्धनलाई प्राथमिकता दिएर आम्दानीका अन्य स्रोत खोज्न सुझाव दिइन्।
