रुपन्देहीको ‘जेल रेष्टुरेण्ट’ बन्द
काठमाडौं : रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ प्रशासनले बन्द गरिदिएको छ।
रेष्टुरेण्टमा छापा मारी प्रहरीले हत्कडी, बन्दुकजस्तो देखिने एयरगन र फासी लगाउन मिल्ने पासो जफत गरेको छ। ग्राहकलाई लक्षित गरेर रेष्टुरेण्टका कोठा जेलको आकारमा बनाइएको थियो। ग्राहकले हत्कडी लगाउने र खाजा खाने, पासोजस्ता सामग्रीबाट आत्महत्या गर्न प्रोत्साहन हुने पाइएकोले रेष्टुरेण्ट बन्द गराइएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए।
रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट थाहा पाएको र अनुगमन गर्दा कैफियत देखिएका कारण बन्द गराइएको उनले बताए। फरक प्रकृतिको देखिने भएका कारण पछिल्लो समय रेष्टुरेण्ट चर्चित बन्दै गएको थियो।
रेष्टुरेण्ट सञ्चालकलाई आज जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको उनले बताउनुभयो। यसबारे आवश्यक अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
