आदिल अन्सारी र महबुब आलम स्पट फिक्सिङमा पक्राउ , राज्यविरुद्ध कसुर अभियाेगमा अनुसन्धान हुदै

सेयर गर्नुहोस

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरुविरुद्ध राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान हुने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पट फिक्सिङमा चार नेपाली र ६ विदेशी संलग्न भएको निष्कर्ष निकालेको छ । उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारीसहित ३ जना पक्राउ परेका छन् ।
सीआईबी स्रोतका अनुसार स्पट फिक्सिङमा मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐन आकर्षित हुन्छ ।

मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलोामतो गरे राष्ट्रहित विरुद्धको कसुर भएको मानिने उल्लेख छ । यसमा दोषी ठहर भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवना हुने उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐनमा भने नेपालभित्र वा नेपालको प्रतिनिधित्व गरी खेलिने कुनै पनि खेलमा मिलेमतो गराउन नहुने उल्लेख छ । मिलेमतो गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ ।

त्यस्तै यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ । यस्तो कसूर गर्ने सार्वजनिक पद धारण गरेको व्यक्ति भएमा उनलाई थप ३ वर्ष कैद हुनेछ ।


प्रहरीको निष्कर्ष : स्पट फिक्सिङमा ४ नेपालीसहित १० जना संलग्न

गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।

जसमध्ये महबुब आलम र आदिल अन्सारी गरी दुई जना पक्राउ परिसकेका छन् भने अरुको खोजी भइरहेको सीआईबी स्रोतले जनाएको छ । घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सीआईबीले बताएको छ ।

Facebook Comments Box