दुर्घटना कम गर्न ट्र्याक्टरमा टल्किने स्टिकर
सिरहा – रातिको समयमा हुने गाडी दुर्घटना कम गर्नका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ ।
ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत याे अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख एवम् प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताउनुभयो । ‘ट्र्याक्टरको ट्रलीमा बत्तीको व्यवस्था नहुँदा राति दुर्घटनाको जोखिम बढी हुन्छ । त्यसैले ट्रलीमा टल्किने स्टिकर (रिफ्लेक्टिभ) टाँस्न थालेका छौँ’, उहाँले भन्नुभयो ।
चिसोमा बाक्लो हुस्सुका कारण प्रायः रातिको समयमा गाडी चलाउन कठिनाइ हुने गरेको गुनासो आएपछि ट्राफिक प्रहरीले याे अभियान थालेको हो । अभियानबाट दुर्घटनामा कमी आउने श्रेष्ठ बताउनुहुन्छ । सरकारले समर्थन मूल्य कायम गरेपछि अहिले यहाँका उखु किसान धमाधम उखु बिक्री गरिरहेका छन् ।
