कमल थापाले चित्त दुखाउँदै राप्रपाका मन्त्रीलाई बल्ल दिए बधाई
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सरकारमा गएको तीन दिन भएको छ। उपप्रधानमन्त्रीसहित राप्रपाका नेताहरू माघ ३ गते मंगलबार मन्त्री नियुक्त भएका हुन्।
त्यसै दिन बेलुका विरोध गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिहीबार भने चित्त दुखाउँदै बधाई दिएका छन्।
मंगलबार राति उनले सामाजिक संजालामा आफूलाई सरकारमा गएर गल्ती गर्यो भन्नेहरू आज कता छन्? भन्दै प्रश्न गरेका थिए।
‘हामीलाई सरकारमा गएर गल्ती गर्यो, गणतन्त्रको सरकारमा गयो, धर्म बेच्यो भन्नेहरू आज कता छन्?’ उनले लेखेका थिए, ‘राजा फाल्ने, राजा चाहियो भन्ने, भ्रष्टाचार गरेर खानु आमाको रगत खानु भन्ने र ठूलोठूलो भ्रष्टाचारमा गाँसिएकाहरूको गठबन्धन उदेक लाग्दो छ।’
त्यसको दुई दिन पछि बिहीबार उनले सामाजिक सञ्जालमार्फत नै थापाले लिङ्देनसहितका नवनियुक्त मन्त्रीलाई बधाई दिएका हुन्।
‘केही असहमति,मत भिन्नता र केही चित्त दुखाइका वाबजुद मैले धेरै आडभरोसा र विश्वास गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देशको उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा खुसी लागेको छ।’ उनले लेखेका छन्, ‘साथै राप्रपाका सहकर्मी मित्रहरू विक्रम पाण्डे,ध्रुवबहादुर प्रधान र प्रिय भाइ दीपक सिंह मन्त्री हुनु भएकोमा बधाई र शुभकामना।’
अध्यक्षमा लिङ्देनसँग हारेपछि पार्टी छाडेका थापा अहिले राप्रपा नेपालको अध्यक्ष छन्।
