सभामुखको चुनाव आज : कसको कति मत ?

सेयर गर्नुहोस

काठमाडौं : प्रतिनिधिसभाले आज सभामुख पाउने भएको छ। सभामुख चयनका लागि आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेस गरिनेछ ।

सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ। सत्ता साझेदारका तर्फबाट देवराज घिमिरे र विपक्षी गठबन्धनबाट इश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छ।

प्रतिनिधिसभामा सत्तारुढ दलहरुसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि सभामुख पदमा भने कांग्रेसको नेतृत्वमा छुट्टै गठबन्धन गरेको हो। कांग्रेस र नेकपा एकीकृतको गठबन्धनमा उसले ईश्वरी न्यौपानेलाई अघि सारेको हो।

सत्ता साझेदारका एमाले, माओवादी, राप्रपा र रास्वपाले सभामुखमा एमालेका देवराज घिमिरेलाई अघि सार्दा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी भने भिन्न कित्तामा उभिएका छन्।

अहिलेको अंकगणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ। एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा एमाले उम्मेदवार देवराजले १४५ मत पाउने देखिन्छ।

यसमा सत्ता गठबन्धन घटकमध्ये १२ सिट रहेको जनता समाजवादी, ६ सिटको जनमत पार्टी र ४ सिटको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले उम्मेदवारलाई नै मतदान गरेमा २२ सिट थपिन गई देवराजका पक्षमा १६७ सिट पर्न जान्छ। तर, यी दलहरु मन्त्रिपरिषद गठनमा असन्तुष्ट देखिएकाले सभामुखको चुनावमा प्रस्टसँग खुलिसकेका छैनन्।

कांग्रेसतर्फको मतको अवस्था हेर्दा ईश्वरी न्यौपानेले आफ्नो पार्टीका ८९ मध्ये टेकबहादुर गुरुङबाहेक ८८ मत पाउनेछिन्। यसमा एकीकृत समाजवादीको १० भोट थप्दा ९८ हुनेछ भने यसमा लोसपाका ४ सांसद थप्दा १०२ पुग्छ।

एक-एक सिट रहेका जनमोर्चा र नेमकिपा विपक्षमै रहेकाले उनीहरुले या त चुनाव बहिस्कार गर्नेछन्, या कांग्रेसलाई नै मत दिनेछन्। त्यस्तै स्वतन्त्र सांसदसँग तीन मत छ । प्रभु साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले कसलाई भोट दिन्छन्, खुलिसकेको छैन।

मन्त्रीमा नसमेटिएका उनीहरुले कांग्रेसलाई मत दिए भने यी सबै मत जोड्दा कांग्रेसको भागमा १०७ पुग्छ। जसपा, नागरिक उन्मुक्ति र जनमतको २२ सिट थप्दा पनि बहुमत पुग्दैन।

अन्यथा, सत्तारुढ गठबन्धनबाटै सभामुख चयन हुने सम्भावना नै बढी देखिन्छ। सत्ता पक्षबाटै फ्लोर क्रस नभएसम्म साना दलको मात्रै सहाराले कांग्रेसले जित्ने सम्भावना देखिँदैन।

तर, गणितले साथ नदिए पनि कांग्रेस उम्मेदवार न्यौपाने आफूले सभामुखको चुनाव जित्ने दाबी गर्छिन्। उनी भन्छिन्, ‘निर्वाचनमा जाँदै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन। मैले पनि निर्वाचन जित्छु भनेर सुनिश्चितताका साथ लागिरहेकी छु। माननीय सांसदहरुले दिनुभएको मत मेरो जित्ने आधार हो।’

प्रतिनिधि सभामा २७५ जना सांसद छन्। अहिलेको सत्ता साझेदारमा १ सय ६९ सांसद छन्। सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ मत ल्याउनुपर्छ।

Facebook Comments Box