व्यवसायीहरुलाई धम्काएर रकम असुली गरेको आरोपमा बुटवलमा २ जना पक्राउ

सेयर गर्नुहोस

रुपन्देही – व्यवसायीहरुलाई धम्काएर रकम असुली गरेको आरोपमा रुपन्देही प्रहरीले बुटवलबाट २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका ४ अर्खवाङ्ग बस्ने ३५ वर्षीय नवीनचन्द्र रेग्मी र कञ्चनपुरको गणेशपुर नगरपालिका २ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् । उनीहरुलाई हातहतियारसहित पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख रबिन्द्र रेग्मीले जानकारी दिनुभयो ।

बुटवलको देवीनगरबाट पक्राउ परेका उनीहरुविरुद्ध रोयल ग्रुप नामक समूह बनाएर विभिन्न व्यवसायीसँग १० हजार देखि लाखौं रुपैयाँसम्म असुली गर्न धम्काउने गरेको आरोपमा उजुरी परेको थियो । सैनामैनामा रहेको नवीनको कोठा खानतलासी गर्दा रिभल्वर , गोली , व्यवसायीहरुको लिष्ट पनि प्रहरीले बरामद गरेको छ ।

Facebook Comments Box