सुदूरपश्चिम प्रदेशमा आज सभामुखको चुनाव

सेयर गर्नुहोस

काठमाडौं : दुई पटकसम्म निर्वाचन हुँदा कसैको पनि बहुमत नआएपछि सुदूरपश्चिम प्रदेशमा आज पनि सभामुख चयनका लागि निर्वाचन हुने भएको छ।

संविधानले दिएको समय सीमा हिजै सकिए पनि पोखरामा भएको विमान दुर्घटनाका कारण सरकारले देशभर शोक बिदा दिइएको थियो। सोही कारणले बैठक आजका लागि सारिएको हो।

सभामुख चयनका लागि आज बिहान १० बजे प्रदेशसभा बैठक बस्दैछ। यसअघि पुस २८ र ३० गते भएको निर्वाचनमा सभामुखका उम्मेदवार रहेका माओवादीका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल दुवैले बहुमत ल्याउन सकेनन्।

दुई पटक भएको निर्वाचनमा दुवै उम्मेदवारले बहुमत ल्याउन नसकेपछि संवैधानिक संकट उत्पन्न हुन सक्ने अवस्था आएकाले आज पुनः मतदान हुन लागेको हो।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामखु निवार्चित हुन २७ मत आवश्यक पर्दछ। तर, यस प्रदेशमा सत्ता गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन नसकेका हुन्। आजको बैठकमा भने नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार दललाई मत दिने निर्णय गरेको छ।

संविधानको धारा १८२ को उपधारा १ अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट प्रदेश सभामुख र उपसभामुख चयन गर्नु पर्ने व्यवस्था छ। सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक गत पुस १८ गते बसेको थियो।

Facebook Comments Box