कालीगण्डकीको शिलाबाट अयोध्यामा रामको मूर्ति बनाइने

सेयर गर्नुहोस

काठमाडौं ।
मुस्ताङको प्रसिद्ध धार्मिकस्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डकी नदीलाई कृष्णगण्डकीको उपमाले चिन्ने गरिन्छ । यही नदीमा मात्र शालीग्राम शिला पाइने बताइन्छ ।

यसपटक कालीगण्डकी नदीको शिला भारतको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा मूर्तिका रूपमा राख्न लगिने भएको छ ।अयोध्यामा निर्माणाधीन राममन्दिरमा कालीगण्डकीको शिलालाई मुख्य मूर्तिको रूपमा राख्न लैजान लागिएको हो । भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले दुई साताको समय लगाएर बेनी नगरपालिका– ६ ठूलो पहिरोस्थित कालीगण्डकीमा दुई थान शिलाको पहिचान गरेका छन् ।

सो शिलाको आइतबार पूजापाठ गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहमन्त्री बिमलेन्द्र निधि, गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्तलगायतले शिलाको पूजापाठ गरेका हुन् ।

उत्खनन गर्नुपूर्व क्षमा पूजासहित शिला पूजा गरिएको बेनी नगरपालिकाका मेयर केसीले बताए । भूर्गभविद् र विज्ञसहितको टोलीले अयोध्या लैजान पहिचान गरेका क्यालसाइट र क्वार्जराइट नामका १६ र १८ टनका दुई शिलालाई हस्तान्तरण गर्नुपूर्व शनिबार उच्चस्तरीय टोलीले अवलोकन गरेका थिए ।

अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापना गर्न पवित्र कालीगण्डकीको शिला लैजान लागिएको बताए ।

‘हामी अत्यन्तै खुसी हर्षित छौँ, नेपालको कालीगण्डकीबाट भगवान रामको मूर्ति बनाउने शिला उपहार पाएका छौँ, यसले अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास लिएका छौँ,’ उनले भने ।

कांग्रेस नेता निधिले अयोध्यामा भारत र नेपालका प्रतिनिधिमण्डलबीच भएको छलफलमा निर्माणाधीन राम मन्दिरमा मुख्य मूर्तिका रूपमा कालीगण्डकी नदीका शिला लैजान इच्छा व्यक्त भएपछि आफूले समन्वय गरेको बताए ।

‘अयोध्या र जानकी मन्दिरबीच घनिष्ट सम्बन्ध छ । अयोध्याको राम मन्दिरमा यहाँको शिला मुख्य मूर्तिका रूपमा रहने अवस्थाले कालीगण्डकी नदीको महिमा थप बढाउँछ,’ निधिले भने ।

उनका अनुसार भारतबाट भएको पत्राचारबमोजिम गण्डकी प्रदेश र संघीय सरकारले अयोध्यामा कालीगण्डकीको शिला उपहार पठाउने निर्णय गरिसकेका छन् ।

पौराणिक रूपमै नेपाल र भारतबीचको सम्बन्ध रहेको अवस्थामा कालीगण्डकीको शिला मुख्य मूर्तिका रूपमा राख्न लैजानुले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने र कालीगण्डकीको महिमा बढाउने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

देव शिलाको नाम दिइएका दुई शिला एक हजार वर्षभन्दा बढी टिक्ने विज्ञहरूले बताएका छन् ।

प्रदेश सरकारको शिक्षा, विज्ञान तथा संस्कृति मन्त्रालयका उपसचिव भोजराज न्यौपानेको नेतृत्वमा राम मन्दिर निर्माण समितिका सचिव पंकज, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका उपप्राध्यापक नवराज न्यौपानेसहितको टोलीले करिब दुई साता लगाएर म्याग्दीस्थित कालीगण्डकी नदीमा उपयुक्त शिला खोजेर पहिचान गरी नाँपजाँच गरेका थिए ।

Facebook Comments Box