त्रिविबाट २६ लाख ठगेर भागेका व्यक्ति सम्पर्कमा, अख्तियारले अनुसन्धान गर्दै

सेयर गर्नुहोस

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिएको उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर त्रिविको खाताबाट करिब २६ लाख रुपैयाँ ठगी गरेर फरार भएका एक पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्कमा आएका छन्।

त्रिविको परीक्षा नियन्त्रण कार्यालयका प्रशासन महाशाखाले मंगलबार बेलुका अख्तियारको सम्पर्कमा आएको जानकारी त्रिविमा आएको जनाएको छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पनि एक पुरुष सम्पर्कमा आएको जानकारी दिए।

‘एकजना व्यक्ति सम्पर्कमा आएको छ,त्यही व्यक्ति हो होइन भनेर अनुसन्धान हुँदै छ,पहिचान नै भने भएको छैन,’उनले भने। अख्तियारले एक फरार पुरुषको पहिचान गर्ने व्यक्तिलाई ५० हजार पुरस्कार दिने भन्दै पुस १३ गते ती फरार पुरुषको फोटोसहित सार्वजनिक सूचना जारी गरेको थियो।

जुनसुकै स्थानमा जो कोहीले देखेर आधिकारिक पहिचान दिन सकेमा पुरस्कार दिने भनेको थियो। यी सूचना त्रिविमा समेत टाँसिएको छ।

ती व्यक्तिविरुद्ध २०७५ सालअघि त्रिविले लिएको उत्तरपुस्तिका परीक्षण गरेको नक्कली कागजपत्र बनाएर त्रिविको खाताबाट करिब २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा भ्रष्टाचार मुद्दा परेको थियो। ‘नक्कली कागज बनाएर यत्रो त्रिविको २६ लाख पैसा कसरी लगे होला,कति डर नभएको सुन्दै अचम्म लाग्छ,’त्रिविका एक कर्मचारीले भनिन्।

Facebook Comments Box