सन्दीपको पुनरावेदनमा आज पनि भएन सुनुवाइ
काठमाडौं : बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार पनि सुनुवाइ भएन।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ मा परेको हो।
गत साता पनि पेसी तोकिएको थियो। तर नेपाल बार एशोसिएसनको स्थापना दिवस परेपछि सन्दीप पक्षकै कानुन व्यवसायीले पेशी स्थगित गरेका थिए।
आफू निर्दोष भएको दाबी गर्दै आएका लामिछानेले थुना बाहिरै बसेर पनि अनुसन्धानलाई सहयोग गर्ने बताउँदै आएका छन्।
नाबालिग जबरजस्ती करणीको आरोपित लामिछानेलाई कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो। सन्दीपलाई प्रहरीले गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी हिरासतमा राखेको थियो।
सन्दीप हाल केन्द्रीय कारागार सुन्धारामा रहेका छन्।
