सुन्धाराको मूल धारा नष्ट गरिएकाे भन्दै काठमाण्डाै महानगरको आपत्ति
काठमाण्डाै – धरहरा पुनर्निर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूल धारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आपत्ति जनाउनुभएको छ ।
काठमाण्डाैकाे न्युरोडमा रहेकाे सङ्कटा क्लबमा आज साेमवार आयोजित पत्रकार भेटघाटमा मेयर शाहले नेपालको मौलिक कला, संस्कृतिको नमुनाका रूपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनर्निर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले सुन्धारामा निर्माण भइरहेका संरचनाको विरोध गर्नुका साथै त्यहाँ भइरहेका सम्पूर्ण निर्माण कार्य रोक्न सम्बन्धित ठेकेदारलाई अनुरोध गर्नुभएको छ । रमण कन्ट्रक्सन कम्पनीले सुनधाराको ठिक पछाडि ठूलो खाडल बनाइ त्यहाँ एक लाख लिटर पानी अट्ने विशाल ट्याङ्की निर्माण गर्ने क्रममा त्याे ऐतिहासिक संरचनाको मुख्य वस्तु (काठको लामो पाइप) नष्ट हुन गएको भन्दै हिजाे आइतवार स्थानीयवासी, क्लबका प्रतिनिधि तथा वडा नं. २२ का अध्यक्षको सक्रियतामा त्याे निर्माण कार्यको विरोध भएको थियो ।
त्याे विरोधपछि आज मेयर बालेन्द्र शाहसमेतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा सयौँं वर्ष पुरानो ऐतिहासिक संरचना भत्काउने सम्बन्धमा महानगरलाई कुनै जानकारी नभएको र त्यहाँ भएका कार्य महानगरपालिकासँग कुनै छलफल नै नगरि अगाडि बढाइएको कुरा स्पष्ट पारिएको थियो ।
मेयर शाहले सुन्धाराको मुख्य धारा भएको ठाउँमा खन्ने विषयमा आफूसँग कुनै सल्लाह नभएको र त्यसबारे आफूले कुनै आदेश नदिएको कुरा प्रष्ट पार्नुभएको छ । त्यस अवसरमा मेयर शाह, वडाध्यक्ष तथा स्थानीयवासीको टोली गएर सुन्धारामा ट्याङ्की निर्माण भइरहेको स्थलमा अवलोकन गरि काम तत्काललाई रोक्न निर्देशन दिइएको छ ।
रमण कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले आफूले सम्बन्धित निकायको आदेशअनुसार नै त्याै ट्याङ्की निर्माणलगायतका काम अघि बढाएको जानकारी दिँदै अहिलेलाई काम राेक्न कामदारलाई निर्देशन दिइएको बताउनुभयो । त्यस अवसरमा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन र सङ्कटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलगायतले हस्ताक्षर गरेको एक प्रेस वक्तव्यमा सुन्धाराको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको कुरा उल्लेख गरिएको छ ।
ऐतिहासिक सुन्धारामा रहेको बाहिरी आकृति झन्डै दुई सय वर्षअघि भीमसेन थापाको पालामा बनेको भनिए पनि त्याे पानीको मूल भने चार–पाँच सय वर्षभन्दा पुरानो भएको कुरा पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
