बार अध्यक्षले सम्झाए संसदका महासचिवको काम, कर्तव्य र अधिकार
काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महाअभियोग निलम्बन फुकुवाको पत्र लेख्ने अधिकार संसदका महासचिवलाई नरहेको बताएका छन् ।
संघीय संसदका महासचिव भरतराज गौतमले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
बहसका क्रममा उनले संसदको महासचिवको काम, कर्तव्य र अधिकार स्मरण गराउँदै उनले संघीय संसद सचिवालय ऐन दफा ९ अनुसार निलम्बनको फुकुवाको पत्र लेख्ने अधिकार महासचिवलाई नरहेको बताए ।
संघीय संसद सचिवालय ऐन दफा ९ मा संसदका महासचिवको काम कर्तव्य र अधिकार सम्बन्धी ब्यवस्था छ । जहाँ ‘प्रचलित कानूनमा उल्लेख भएको अतिरिक्त महासचिवको काम, कर्तव्य र अधिकार सचिवालयको प्रशासकीय प्रमुखको रुपमा कार्य गर्ने, संसद सेवाका कर्मचारीको नियुक्ति, अवकाश र सजाय सम्बन्धी कार्य गर्ने, निर्देशानुसार सचिवालयको सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने’ उल्लेख छ ।
