सगरमाथा क्षेत्र भ्रमण गर्नेहरुबाट खुम्बु पासाङ ल्हामु गाउँपालिकाले उठायो ३ करोड बढी राजस्व
काठमाण्डौ – सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटक प्रवेश शुल्कबाट ३ करोड बढी राजस्व सङ्कलन गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा अहिलेसम्म प्रवेश शुल्कबाट ३ करोड ६२ लाख ७ हजार राजस्व सङ्कलन गरेको हो । चालु आर्थिक वर्षमा १५ हजार ३ सय १३ पर्यटक खुम्बु भित्रिएको गाउँपालिकाको तथ्याङ्क छ ।
जसमा साउन महिनामा २ सय ३ जना, भदौमा ६ सय ६१ जना, असोजमा ५ हजार ६ सय २९ जना, कात्तिकमा ७ हजार ७ सय ८६ जना र मङ्सिर १५ गते सम्ममा १ हजार ३४ जना विदेशी पर्यटकले खुम्बु भ्रमण गरेका छन् ।
पालिकाले प्रति विदेशी पर्यटक २ हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले जानकारी दिनुभयो ।
यो रकम पालिकाको छुट्टै राजस्व खाता राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको र पर्यटक पूर्वाधार विकासमा मात्रै खर्च गर्ने उहाँको भनाइ छ ।
१० वर्षभन्दा कम उमेरका, कुटनीतिक नियोगका व्यक्तिहरु तथा नेपाल सरकारबाट निर्णय भएर खोज तथा अनुसन्धानमा आएका व्यक्तिलाई शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।
देश सङ्घीयतामा गएसँगै २०७४ सालमा पहिलो पटक स्थानीय सरकारले निर्णय गरेर पर्यटकबाट पालिकाले छुट्टै राजस्व सङ्कलन गर्न थालेको हो ।
यो निर्णय खारेजीको माग गर्दै पर्यटन व्यवसायीले अदालतमा मुद्दासमेत हालेका थिए । तर यस मुद्दामा उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुङ्गाले गाउँपालिकाको नाममा फैसला गरेसँगै शुल्क लिने कार्यको बाटो खुलेको हो ।
सगरमाथा क्षेत्र भ्रमण गर्न आउने विदेशीलाई सगरमाथा राष्ट्रिय निकुञ्जले पनि निकुञ्ज प्रवेश शुल्क लिने गरेको छ ।
अन्तिम अपडेट: मंसिर २३, २०७९
